पत्रपत्रिकाका फ्रन्ट पेजमा के छापियो त आज ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पत्रपत्रिकाका फ्रन्ट पेजमा के छापियो त आज ?



हिमाल पोष्ट / २५ चैत, काठमाडौं ।

शुक्रबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले मन्त्रिपरिषद्का दुई उपप्रधानमन्त्रीहरुको वरियता विवादको विषयलाई मुख्य खबर बनाएका छन् । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र उपप्रधान तथा गृहमन्त्रीको वरियता विवादले तीन सातादेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक वरियताको चर्कंदो विवादले थप संकटमा परेको पत्रपत्रिकाहरुले लेखेका छन् ।

आजको गोरखापत्र दैनिकले वैशाख ३१ का लागि तय गरिएको निर्वाचनमा मधेसका विषयमा केही दिनभित्रै सरकारबाट ठोस प्रस्ताव नआए निर्वाचन आयोग आफ्नै हिसाबले अघि  बढ्ने जनाएको छ ।  ‘नयाँ संशोधन विधेयक दर्ता गराउन माओवादी केन्द्रको प्रस्ताव’ शीर्षकको खबर पनि गोरखापत्रले प्रमुखताका साथ छापेको छ ।

नयाँ पत्रिका दैनिकले गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसमन्त्रीको छुट्टै बैठक बोलाएको विषयलाई मुख्य खबर बनाएको छ । ‘निर्वाचन दुई चरणमैः प्रधानमन्त्री’, अस्पतालमा एक वर्षमा तेस्रो आत्महत्या’ शीर्षकका खबर पनि आजको नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा अटाएको छ ।

नागरिक दैनिकले ‘१९५० को सन्धि पुनर्लेखन हुने’ शीर्षक दिएर काठमाडौंमा दुई दिनसम्म चलेको इपिजी बैठकको निर्णयबारे खबर लेखेको छ । नागरिक दैनिकले वरियता विवादले गठबन्धन अप्ठ्यारोमा परेको अर्को खबरलाई पनि पहिलो पृष्ठमा उत्तिकै प्राथमिकता साथ  छापेको छ । नागरिकले प्रमुखमा महिलाको चर्चा खोइ ? शीर्षकमा पनि खबर लेखेको छ ।

राजधानी दैनिकले वरियतामा प्रधानमन्त्रीले कमल थापाको पक्ष लिएपछि विमलेन्द्र निधि प्रधानमन्त्रमाथि खनिएको विषयलाई आफ्नो मूल खबर बनाएको छ । वडामा दलित महिला नपाइए के गर्ने भन्ने विषयलाई पनि आजको राजधानी दैनिकले जोडदारका साथ उठाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्रीलाई निर्वाचन आयोगले अल्टिमेटम दिएको भन्दै २ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा कार्यतालिका नै प्रभावित हुने खतरा बढेको जनाएको छ । ‘दोस्रो नपाए निधिको राजीनामा’ शीर्षकको खबरलाई पनि नयाँ पत्रिका दैनिकले आफ्नो पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।