पल शाहलाई प्रहरीले हिरासतमा लियो - Himal Post Himal Post
  • २१ आश्विन २०७९, शुक्रबार
  •      Fri Oct 7 2022

पल शाहलाई प्रहरीले हिरासतमा लियो



जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए । 

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । तर, पल शाहले आफू स्वमं जिल्ला प्रहरी कार्यालय, तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’