‘पेइङ’ सेवाबाट छ महिनामा छ करोडको आम्दानी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘पेइङ’ सेवाबाट छ महिनामा छ करोडको आम्दानी



काठमाडौं,  माघ १३ गते  । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो । यो रकम यो वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।

सोही रकमले अस्पतालका लागि पानी, बत्ती, सरसफाइलगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलबभत्ताका लागि खर्च गर्ने गरिएको छ । अस्पतालले १३ वर्षअघिदेखि पेइङ सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष पेइङ र बहिरङ्गमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए । तीमध्ये एक हजार पाँच सय नौ जनाले शल्यक्रिया गराएका थिए ।

स्थापनाकालदेखि गत आवसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका र त्यसमध्ये १२ हजारको ओपन हार्ट सर्जरी भएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढ्दै गएपछि एक सय ६० शय्या भएको अस्पतालमा ४० शय्या थप गरी गत साउनदेखि दुई सय शय्याको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो ।

अस्पताल २०५२ सालमा स्थापना गरिएको थियो । अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका मुटुका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् । सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ ।

सरकारले विपन्न नागरिक, १५ वर्षमुनि र ७५ वर्ष माथिका मुटुका बिरामी, मुटुको भल्भ फेर्नुपर्ने बिरामीका लागि वार्षिक रुपमा रु ३१ करोड ५० लाखभन्दा बढी रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

सरकारले १५ वर्ष मुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

यस्तै, सरकारले आव २०६४/६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
आव २०६६÷६७ बाट मुटुको भल्भ साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ देखि आव २०७१÷७२ सम्म दुई हजार तीन सय ७२ बिरामीको साँघुरिएको भल्भलाई बेलुनद्वारा फुलाएर उपचार गरिएको थियो । रासस