कसरी हुन्छ भिडियोबाट पेट्रोलियम पाइपलाइन उद्घाटन ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कसरी हुन्छ भिडियोबाट पेट्रोलियम पाइपलाइन उद्घाटन ?



काठमाडौं । नेपाल–भारत पाइपलाइनको उद्घाटन भिडियो कन्फ्रेन्समार्फत गरिँदैछ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिचेर भदौ २४ गते पाइपलाइनको उद्घाटन गर्नेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुनेछन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरु उक्त दिन अमलेखगञ्जस्थित डिपोमा हुनेछन् ।

मन्त्रालयका अनुसार नेपाली समयअनुसार १२ः१५ बजे दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्भको स्वीच अन गर्नेछन् । यसअघि नै पाईपमा डिजेल भरेर राखिएकाले तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्भ पनि स्वीच अन गर्नेछन् । 

उक्त पाइपलाइनको साउन २ गते सफल परीक्षण सम्पन्न भएको थियो ।  पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको मन्त्रालयले जनाएको छ । भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाइपलाइन सुृरक्षा भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट गराउनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओली अहिले सिंगापुरमा उपचाररत छन् । सो क्रममा उनले आज भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल गरेका छन् ।