फिलिप साल्टको विष्फोटक ब्याटिङ, विराट कोहलीको योजना विफल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फिलिप साल्टको विष्फोटक ब्याटिङ, विराट कोहलीको योजना विफल



एजेन्सी – युवा ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यससँगै दिल्लीसँग बदला लिने विराट कोहलीको योजना विफल भएको छ ।

जितको लागि १ सय ८२ रनको बलियो विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा फिलिप साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रनको विष्फोटक इनिङ खेले । राइली रोसोउ २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा अविजित रहे ।

ओपनर डेविड वार्नर १४ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए । मिचेल मार्श १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । बेंगलोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बेंगलोरका युवा खेलाडी महिपाल लोमरोर २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि जिताउन भने सकेनन् । उनको यो आइपिएल करिअरको पहिलो अर्धशतक थियो ।

बेंगलोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १०.३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मिचेल मार्शको बलमा डु प्लेसिस डिप कभरमा अक्षर पटेलबाट क्याच आउट भए । उनले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल विकेटकिपर फिलिप साल्टबाट कट विहाइन्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । विराट कोहली ४६ बलमा ५ चौकासहित ५५ रनमा आउट भए ।

दिल्लीका मिचेल मार्शले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।दिल्ली १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।