पिरती ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पिरती !



-दीपक घिमिरे

बारमा बसेर सूर्य चुरोटको खिल्ली सल्काउदै अनिसले बार टेन्डर लाई भन्यो ” एउटा कक्टेल बनाऊ भाइ , हनि र लेमन हाल है । ”

उसले सूर्य चुरोट आधा मात्र पियो , अनि नजिकै एस्ट्रेमा निमोठ्यो । बार टेन्डरले हनि , लेमन अनि भोडका मिसायर गजपको कक्टेल बनायो । अनिसले गोजीबाट मोबाइल निकाल्यो अनि रिचालाई फोन गर्‍यो ।

बार टेन्डरले कक्टेल पुर्‍याउने र उता रिचाले फोन उठाउने एकै साथ भएछ क्यारे , अनिसले बार टेन्डरलाई चुप लाग्न इसारा गर्दै भन्यो ” बेबि ! ड्रीम्स बारमा छु , आऊ ल । ”

बार टेन्डरले अनिसको कक्टेल टेबुलमा राखेर आफ्नै काममा व्यस्त भयो , यता अनिस रिचा सँग माफी माग्दै थियो ” बेबि ! प्लिज , नेक्स्ट विक चोभार जाउला । आज यतै आऊ न । ”

रिचाले के भनी थाहा भएन तर अनिस निक्कै रिसायो , एक्कासि फोन काटदै भन्यो ” साला खातेनी ! औकात नभएसी यस्तै हो । ”

कक्टेलको गिलास हातमा लियो अनि एकै पटकमा स्वाट्टै पारेर अनिसले अर्को चुरोट सल्कायो ।

उ झ्याप भैसकेको थियो । दिउँसो तीन बजे बाट बारमा बसेको अनिस आज कुनै तनावमा थियो । उ कहिले रिचालाई कल गरेर मन भुलाउन चाहन्थ्यो त कहिले अरू एक प्याग कक्टेल पियर ।

उसले बार टेन्डरलाई अरू एक प्याग कक्टेल बनाउन लगायो , बार टेन्डरले भित्तामा झुण्डिएको घडी देखाउदै भन्यो ” सर ! एघार बजिसक्यो । सबै स्टाफ घर गैसके । ”

अनिसले घुरेर बार टेन्डरलाई हेर्‍यो , बार टेन्डर डरायो । लामो सास तानेर एक पटक खोक्दै अनिसले भन्यो ” लास्ट प्याक बनाऊ । ”

बार टेन्डरले हतारका साथ लास्ट प्याग बनायो , अनिसले ढिला नगरी पियो अनि हिसाब तिरेर बाहिरियो ।

उसलाई कोठा जान मन थिएन । हिडेर पन्द्र मिनेटको दुरिमा भएको कोठामा नगएर उ ट्याक्सी रोकेर चढ्यो अनि ड्राईभरलाई भन्यो ” पुरानो बानेश्वर लैजाउ । ”

ट्याक्सी बालाले मिटरमा नजाने सुनाउदै भन्यो ” तीन सय पचास लाग्छ । ”

अनिसले मुन्टो हल्लाउदै ओके जनायो । ट्याक्सी गुड्यो , अनिसले फेरि चुरोर निकाल्यो । ट्याक्सी ड्राईभरले अनिसलाई रोक्दै भन्यो ” दाइ ! म ट्याक्सीमा चुरोट पिउन दिदैन । ”

अनिसले चुरोट फेरि डिब्बामै कोचेर भन्यो ” गुड ब्याई ! ”

ट्याक्सी आफ्नै गतिमा रन्कियो । मिटरमा जाँदा आधा घण्टा लाग्ने बाटो यति बेला दस मिनेटमै पुगायो । चोकमा पुगेर ट्याक्सी रोक्दै ड्राईभरले अनिसलाई घच्घच्याउदै भन्यो ” दाइ ! पुरानोबानेश्वर चोक आईपुग्यो । ”

अर्ध निद्राबाट ब्युतेसरी अनिसले आँखा मिच्दै भन्यो ” ओ हो ! कति फास्ट ? ”

पाँच सयको नोट दिँदै अनिसले भन्यो ” खै फिर्ता ! ”

ड्राईभरले अनिसलाई फिर्ता दियो अनि ट्याक्सी अरू यात्रु खोज्न निस्कियो , अनिस लरबराउदै पुरानो बानेश्वरबाट सिनामंगल तिर हिड्यो ।

अलिकति अगाडी पुगेपछि एउटा साघुरो गल्लीबाट भित्र छिरेर पुरानो घरमा अनिसले गेटमा ढक-ढक्याउदै भन्यो ” रिचा ! गेट खोल्देउ त । ”

दर्जन पटक रिचा रिचा गरेर थाकेपछी अनिस पर्खाल माथि चढेर भित्र गयो । पहिलो फ्ल्याटमा बाहिर पट्टि भएको रिचाको कोठामा झ्याल बाट नियाल्दै उसले फेरि बोलायो ” रिचा ! ढोका खोल न यार प्लिज । ”

यति भनेर नसक्दै उसलाई कठालोमा समात्न दुई जना आईपुगे । वरीपरीका घर बाहिर बत्ती बले , सबै उठे ।

कठालोमा समात्ने बलवान् मान्छेहरू अनिसलाई घिसार्दै अगाडि बरण्डामा ल्याए । अनि दुई झापट लगाउदै भने ” साला चोर ! बल्ल पक्राउ परिस । ”

अनिसको नशा उत्रीयो । दिउँसो तीन बजेबाट पिएको कक्टेलको नशा दुई झापटमै खुलुत्तै पिसाबबाट बगेर गयो । अनि होसमा आउँदै अनिसले भन्यो ” म चोर होइन , म रिचालाई भेटन आको । गाउँबाट आउँदा ढिला भएर यतै बस्न आको मात्र हो । ”

अनिसले सफाया दिँदै थियो , अर्को बलवानले लात्ताले भकुर्दै भन्यो ” को रिचा बे ? यो हाम्रो घर हो , यहाँ कोही रिचा सिचा छैनन् । ”

अनिसले आँखा चिम्म गरेर मुन्टो बेस्सरी हल्लायो , अनि आँखा ठुला बनाउँदै घर बाहिर अनि गेट तिर नजर डुलायो ।

बाफरे ! साँच्चै यो त रिचा बस्ने घर होइन । उसले गल्ती महसुस गर्‍यो । गोजीबाट आफ्नो परिचय-पत्र देखाउदै भन्यो ” दाइ ! म मेडिकल स्टुडेन्ट हो । टिचिङमा एम बि बि एस पढदै छु । लास्ट ईयर हो , रिचा बस्ने रुम भुलेछु । ”

हातको परिचय -पत्र थुतेर पढदै अर्को बलवानले भन्यो ” राती एक बजे दारुको नशामा अरूको घरका झ्यालबाट चियाउनेले डाक्टरी पढछु भन्ने साला । ”

अनिस चुप बस्यो । दुई चार घरका छिमेकीले अनिसलाई पुलिसमा बुझाउन सल्लाह दिए , दुई बलवानले बा आमा सँग सल्लाह गरेर एक पटकलाई छाडिदिने निधो गरे ।

गेटबाट घोक्रेठ्याक लगाउदै अनिसलाई धक्का दिएपछी उ फेरि उहीँ साघुरो गल्लीमा आईपुग्यो । अनि टाउको माथि हात लगाउदै रिचाको घर खोज्न थाल्यो ।

उ पूर्व पश्चिम सम्म छुट्टाउन नसक्ने अवस्थामा थियो । उसलाई रिचाको घर चिन्न गारो भएसी फेरि आफ्नै तालमा हिडेर पुरानोबानेश्वर चोक सम्म आईपुग्यो ।

त्यहीबाट ट्याक्सी चढेर उ फर्कियो आफ्नै कोठामा ।

सुदुर-पश्चिमबाट डाक्टर बन्ने सपना देखेर काठमान्डौ छिरेको अनिस आफ्नो बा आमाको सपना भन्दा पिरतीको सपनामा ध्यान मग्न हुन थालेपछि सुरु गर्‍यो पिउन । सुरुमा रक्सी र चुरोट पिउने साथीभाई समेत नरुचाउने अनिस अहिले यी दुई नपिउने साथीलाई आफ्नो कोटामै मिसाउदैन । उसका सङ्गतमा सबै पिउछन ।

ठ्याक्कै कर्मले जुराकै जस्तो रिचा पनि मस्तले पिउछे । कहिले वाईन पिउने ल बेबि भन्दै वाईनको नशामा चुर हुन्छे त कहिले आज चैँ चिसो बियर पिउनु पर्छ कान्छू भन्दै बियर पिउछे ।

कहिले काहीँ दुवै जना बसेर कोठामै पिउछन अनि यतै रात बिताउछन । स्याङ्जा घर भएकी रिचा पनि मेडिकल स्टुडेन्ट हो । दुवै प्रेममा परेपछी पिउन पिलाउन थाले अनि पिरती साटासाट गर्न पनि ।

रोमान्स गर्ने मुडमा बस्ने रिचा नयाँ नयाँ ठाउँमा घुम्न चाहन्थी , कोठामै बसेर पिउन मजा मान्ने अनिस चैँ दारुको नशामा फिट भएर बस्न चाहन्थ्यो ।

दुवैका अलग अलग चाहना हुन थालेपछि रिचा टाढिदै थिई भने अनिस झन् पिरतिमा फस्दै थियो । आजभोली अनिस एक्लै बारमा बसेर पिउछ अनि नशाले झ्याप भएसी रिचालाई सम्झिन्छ ।

रिचा चैँ पुरानो बानेश्वरबाट सरेर महाराजगञ्ज तिर बसाई सरेकी छे । यो अनिसलाई अहिले सम्म थाहा छैन र त घोक्र्याई माग्छ यसै गरी , कहिले कुन घरबाट त कहिले कुन बारबाट ।

पिरतीले पागल जस्तै बनेको छ अनिस । कलेज जान छाडेको छ । अन्तिम वर्षको पढाइलाई बिगार्दै उ दिनभर दारुमा भुल्छ अनि रातपरेपछी रिचालाई सम्झिन्छ ।

उता रिचा चैँ आफ्नो बाउ आमाको सपना साकार गर्न दिनभर मस्तले पढछे अनि रातपरेपछी दिनभरको ह्याङ मेटाउन चिरिप्प एउटा बियर आफ्नै कोठामा पिउछे अनि अनिसको कल आउना साथ पिरतीले मस्त भएक नाटक गर्दै भन्छे ” बेबि ! अर्को हप्ता नगरकोट जाने ल । ”