प्लेटफार्म नं १० - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्लेटफार्म नं १०



“नमस्कार ! मलाई चिन्नुहुन्छ ?” उसको आकस्मिक पहिलो वाक्य ।

“अल्लि गाह्रो पर्‍यो त” ! मेरो असमन्जसको जवाफ ।
“के चिन्नुहुन्थ्यो ! मलाई मेरै परिवार आफ़ंतले त चिन्दैनन । साथीभाईले त गन्दैनन । श्रीमती,छोराछोरीले त मान्छे भन्दैनन । अझ त्यसमाथि तपाईँ त लेखक !”

निप्पोरी स्टेसन,प्लेटफार्म नं १० । एक छिन घोरिएँ । टोकियो जस्तो व्यस्त सहरको रेलवे प्लेटफार्ममा अन्दाजी चालिस आसपासको नेपाली युवक । अलि अव्यवस्थित लावाइ र लवजमा मसँग एकाएक बोल्न आउनुको कारण के होला ? उसको बारेमा जान्ने उत्सुकता हुँदाहुँदै पनि मैले आफूलाई सतर्क राखिरहें ।

“म तपाईँ सँग बोल्दा कुनै आपत्ति त छैन नि ?” ऊ अनुमति पनि माग्थ्यो अनि मेरो अनुमति नपर्खी आफै बोली पनि हाल्थ्यो, “सायद आपत्ति छैन होला । तपाईँ त राम्रो लेखक । मान्छेको मन छामेर,समाजको जरोमा पुगेर लेख्नुहुन्छ । त्यसैले तपाईँले मेरा कुरा सुन्नुहुन्छ जस्तो लागेर सुनाउदै छु । यो मान्छे पागल रैछ जस्तो लाग्यो होला है तपाईँलाई ? लागोस,केही छैन । मैले मेरा कुरा पहिलो पटक भरोसायोग्य कसैलाई सुनाउँदै छु ”

ऊ बोलिरह्यो । मैले गर्न सक्ने भनेको उसका कुरा सुन्दै मुन्टो हल्लाउँदै मुसुमुसू हाँस्नु बाहेक अर्थोक केही थिएन । ऊ भन्दै गयो,
“काठमाडौँमा मेरो चलेको किराना पसल थियो । बिहानै उठेर कालीमाटी जान्थें,तरकारी ल्याउँथें,उनले पसल खोलेर सरसफ़ाई गरिसकेकी हुन्थिन । दुई जना रमाई रमाई त्यो सानो व्यवसाय चलाउँथ्यौं । आम्दानी ठिकै थियो । राम्रो हुँदै जाने सम्भावना पनि थियो । पसल सुरु गरेको छ महिनामै राम्रो पीक अप लिइसकेको थियो । उनी सहयोगी थिइन,उत्तिकै मायालु पनि । उनको साथ पाए जे पनि आँट्न सक्छु भन्ने विश्वास भित्रैबाट पलाएर आऊँथ्यो । त्यसैले त बिहेको वर्षदिन बित्न नपाउँदै तानसेनको घरपाई जागिर छोडेर उनको काठमाडौँ बस्ने चाहनाको लागि राजधानी छिरेको थिएँ । बूढ़ा हुँदै गएका बाबा आमा र आठ कक्षामा पढ्ने बहिनीले कहीँ कतै चित्त दुखाएका हुन कि जस्तो नलागेको होइन । तर उनको खुसीको लागि म मेरा आफ्नाहरुलाई मनाउने सामर्थ्य पनि राख्थें ।

बि कम पास छोरो, हुँदा खाँदाको लेखपालको जागिर छोडेर किराना पसल गर्न राजधानी जान्छु भन्दा बाबाले दुई चार कुरा नसुनाउनु भएको होइन तर आफूले मन पराएर बिहे गराइदिएकी बुहारीको खातिर आमाले बाबाको मुख सजिलै टाल्दिनुहुन्थ्यो । बहिनीले पनि दाजु भाउजू सँग काठमाडौँ बसेर पढ्ने सपनामा मक्ख परेर बिदाइका हात हल्लाएकी थिई । आफन्त,साथीभाईले हँसीमजाकमै सही,जोईटिंग्रेको ट्याग नलगाइदिएका होइनन । तर उनको खुसी र मेरो मनमा रहेको उनीप्रतिको असीमित मायाको खातिर सब लान्छाना र आरोप स्वीकार्य थिए । म सबै बाट टाढा हुन्छु भन्ने थाहा हुँदा हुँदै पनि उनी प्रतिको समर्पणको हदमा पुगेर काठमाडौँ छिरेको थिएँ सर ”

यति भनेर ऊ रोकियो । उसको मुखाकृति परिवर्तन हुँदै गइरहेको म महसुस गर्न सक्थें । यामोनोतो लाइनका दुई दुई मिनेटमा आउने कैयौँ रेल छुटिसकेका थिए । म आत्तिइरहेको थिएँ,उसका कुरा छिटो सकिए हुन्थ्यो भन्ने व्यग्रताले लखेटिरहेको थियो । ऊ फेरि पनि मेरै फिक्री गर्दै बोल्यो ।

“सरलाई ड्यूटीको लागि हतार भएको होला है ! साहू रिसाउने होला फेरि ! टेन्सन नलिनुस,यी साहूको जात नै रिसाउने हो । म नै मेरा स्टाफ़ सँग कति रिसाउँछु । आफ्नो व्यक्तिगत रिस पनि बिचराहरु माथि पोख्छु । दया नै आउँदैन भन्या,उनीहरू पनि मेरो ग़रीब देशका पीड़ित दाजुभाइ हरू हुन नि ! म त ठुलो मालिक पो बन्छु त कैलेकाहिं सर । हा हा हा ।.. तर तपाईँ धन्दा नमान्नुस,तपाईँको साहू रिसायो भने भोलि नै म कहाँ आउनुस,जागिर पक्का ! हा हा हा !”

मलाई उसका कुरा कति पत्याउने र कति नपत्याउने भन्नेमा दुविधा भइरहेको थियो । अनि उसका पुरै कुरा सुन्ने कि नसुन्ने भन्ने कुरामा म निर्णयमा पुग्न सकिरहेको थिइन । ड्यूटीको समयले दिमागमा एकोहोरो अलार्म बजाइरहेको थियो । धन्न केही अतिरिक्त समय राखेर काममा निस्किने मेरो बानी, अझै केही समय उसका कुरा सुन्न सक्ने अवस्था थियो । यसबिचमा मैले अनुमान लगाइसकेको थिएँ,यदि ऊ सत्य बोलिरहेको छ भने ऊ टोकियोमा कुनै रेस्टुरेंटको मालिक हुनुपर्छ ।

“हा हा हा ! माइंड नगर्नुस है सर ! मैले जागिरको लोभ देखाएर हजुरलाई हेपे जस्तो भयो । म यस्तो हेपाह र घमण्डी मान्छे थिइन पैले । तर आजकल के भएँ,भएँ । पहिले काठमाडौँले,अहिले टोकियोले मेरो स्वभाव नै बदलिदिए । म तानसेनकै प्रताप ठिक थिएँ सर । टोकियो आएको आठ वर्ष भयो । मेरो आफ्नो कम्पनी छ । चारवटा रेस्टुरेंट छन् । राम्रो चलेका छन् । ईश्वर दाहिने भएर होला पैसाको कमी नै छैन जिन्दगीमा । टोकियो सहरमा सानको जिन्दगी जिउन पुग्ने धन कमाएको छु सर”

उसको कुरा बिचैमा काटेर “त्यसो भए किन यस्तो हुलिया त तपाईँको” भनी सोध्न मन लाग्यो । तर प्रश्नलाई मनभित्रै दबाएर कस्मेटिक मुस्कान ऊ तिर फ्यांक्दै उसका कुरा सुनिरहें ,

“थाहा छ सर,मान्छेले जीवनमा के चाहन्छ ? तपाईँ भन्नुहोला-पैसा । हैन । अनि फेरि भन्नुहोला-माया । त्यो मात्र पनि हैन । मलाई हेर्नोस त, यो भौतिक दुनियाँका सबै सुख सुविधा किन्न सक्ने हैसियत भएको मान्छे । टाढा भए पनि माया गर्ने परिवार छ । बाबा आमा बहिनी छन् । संसारकै भाग्यमानी भन्छन् मलाई साथीभाईहरु,त्यति राम्री श्रीमती छिन । तर पत्याउनु हुन्छ ? म खुसी छैन । म के कारणले खुसी छैन,म अहिले भन्दिन तपाईँलाई । अर्को भेटमा भन्छु । तपाईँलाई ढिलो भएको छ मैले बुझेको छु । टोकियो सहर घडीको सेकेण्ड सुई सँगै चल्छ । म तपाईँको समय आज अब धेरै लिन्न । तपाईँ जानूस । भोलि पर्सीमा म यहीँ भेट्छु तपाईँलाई । यतिबेर अल्मल्याएँ,माफी चाहन्छु । सरको ट्रेन आयो,ल जानूस ”

मलाई आश्चर्य र आक्रोश एकैपटक उत्पन्न भयो,आखिर के तालको मान्छेको कुरा सुनिरहें मैले त्यतिबेर ? उसका सुरुका कुरा र अन्त्यका कुरामा कुनै तालमेल थिएन । के साँच्चै कुनै मनस्थिति बिग्रेको नेपालीलाई भेटेको थिएँ टोकियो जस्तो अत्याधुनिक सहरको रेलवे प्लेटफार्ममा ? कामना गरेँ त्यो पागल फेरि नभेटियोस ।

रेलको ढोकैनेर पुग्दा ऊ भन्दै थियो,”सर,यो शिर उससैको सामु झुकोस जसले झुकेको शिर भित्रका गुणको वजन महसुस गर्न सक्छ । उसको सामु कैलै नझुकोस जसले झुकिरहने शिरलाई लत्रिएको ठान्छ”

क्रमशः