प्लेटफार्म नं १० (अङ्क २) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्लेटफार्म नं १० (अङ्क २)



“ओहायोउगोजाइमास सर !”

पछाडिबाट परिचित आवाजले बोलायो ।
“ओहो,तपाईँ ! ओहायोउगोजाइमास ! हराउनुभो त दुई दिन !”
“सरले मलाई खोज्नु भो र ? हा हा हा ! ”
“म यहाँ बाट चढे पनि तपाईँलाई सधैँ कार नं ५ मा चढेको देख्थें पहिले पनि । अँस्ति कुरा भए पछि त्यो रात म तपाईँका कुराले राम्रो सँग निदाउन सकिन । तपाईँका कुरा मन विचलित गराउने खालका थिए । तपाईँ त बढ़ो रहस्यमयी मान्छे !”

“हा हा हा सर पनि ! म कहाँ रहस्यमयी हुँ र ! तपाईँलाई त्यस्तो लागेको मात्र हो । यो टोकियो सहरमा सवा करोड़ बढ़ी मान्छे बस्छन । त्यसमा पनि बिस/तीस हजार त नेपाली नै होलान् । मलाई पनि त आफ्ना कुरा सुनिदिने मान्छेको खोजी छ जिन्दगीमा । म कुरा सुनाउन खोज्छु,मान्छे मलाई रहस्यमयी ठान्छन,कोही कोहीले त ‘साइको’ पनि भन्छन् । तपाईँलाई पनि भ्रम पर्‍यो मेरो बारेमा । म साधारण मान्छे हुँ सर,अरू मान्छे जस्तै । पिर, बेथा,हाँसो,खुसी भएको मान्छे । तर म जबर्जस्ती रहस्यमयी बनाइएको छु,रहस्यमयी मान्छे भनेर बोलाइएको छु”

उसका कुरा नसकिंदै म बिचैमा बोलें,”कसरी?”

“तपाईँलाई थाहा नै छ । प्लेटफार्म प्रतीक्षा गर्ने ठाउँ हो । यो सहरमा हामी कर्मथलोमा पुग्नको लागि रेलको प्रतीक्षा गर्छौँ । तपाईँ गर्नुहुन्छ,म गर्छु,ई यिनी जापनिज हरू गर्छन् । मेरो जिन्दगी पनि एक किसिमको प्लेटफार्म नै बनेको छ । प्रतीक्षै प्रतीक्षा ।”
-अलि चर्को स्वरमै बोल्ने ऊ यतिखेर अलि सानो आवाज़मा बोल्यो ।

“तपाईँले नै भन्नुभाको होइन,मलाई सबथोक पुगेको छ यो सहरमा भनेर । तपाईँकै भनाइ अनुसार तपाईँ त भौतिक रूपमा सबथोक आर्जन गरेर यो सहरमा ‘सेटल’ भएको मान्छे । फेरि के बाँकी रहला र तपाईँको जीवनमा प्रतीक्षा गर्न ?”
-मेरो अलि जटिल प्रश्न उसलाई ।

“ल त्यसो भए म प्रतिप्रश्न गर्छु तपाईँलाई । तपाईँ पनि त क्षमता भएको अनि पुगिसरी आर्थिक अवस्था भएको मान्छे हो नेपालमा । किन आउनुभयो टोकियो ? तपाईँलाई चाहिँ के को प्रतीक्षा छ त गिरी सर ?”
-उसको झन् जटिल उत्तर ।

“तपाईँ मेरो बारेमा अनुमानको आधारमा बोल्दै हुनुहुन्छ । यो अनुमानको भलाकुसारीले त कहीँ पुगिंदैन हामी । अब खुलेर कुरा गरौँ । तपाईँ म बाट के चाहनुहुन्छ,त्यो भन्नुस । मैले गर्न सक्ने सहयोग गरूँला,दिन सक्ने सल्लाह दिउँला ”
– म सतर्क बन्नुपर्ने देखियो । ऊ अनुमानकै भरमा हो वा जानेको आधारमा मेरो व्यक्तिगत जीवनमा घुसेर कुरा गर्न चाहन्थ्यो जुन मलाई मन्जुर थिएन ।

अब चाहिँ ऊ अलि संयमित देखियो,”नराम्रो नमान्नुहोला सर । प्याच्चै बोल्ने मेरो नराम्रो बानी छ । म केही त चिन्छु तपाईँलाई । कस्सम, तपाईँका व्यक्तिगत कुरा खोतलेर तपाईँलाई विचलित बनाउने मेरो चाहना होइन । मैले चाहेको मेरा कुरा तपाईँलाई बताउन मात्र हो,त्यो भन्दा बढ़ी चाहना केही छैन । यो रेलवे प्लेटफार्ममा यी रेलका आवाज र यो हल्लाको बिचमा अशान्त मनका कुरा सुनाएर पनि त तपाईँले भने झैँ गन्तव्य नपुगिएला नि ! बरु कतै बसेर पिउने समय मिलाउँ न सर । हाम्रो दोस्ती पनि अगाडी बढ्ने अनि हाम्रा कुरा पनि हुने । मिल्छ भने आज साँझ नै ! के भन्नुहुन्छ?”

एक अपरिचित नेपाली,टोकियो सहरको व्यस्त प्लेटफार्ममा व्यस्त समयबिच भेटिन्छ । कुनै बहुलट्ठकले झैँ आफ्ना कुरा फरर बताउँछ,त्यो पनि फेंद न टुप्पोका । अझ त्यसमाथि भन्छ,सँगै बसेर रक्सी पिउँ अनि कुरा गरौँ,साथी बनौं । म कसरी स्वीकार गर्न सक्थें त्यस्तो प्रस्ताव ?
ठाडै भनिदिएँ,”नाइं,हुँदैन सर । एक त मेरो खासै पिउने बानी छैन । त्यसमाथि न म तपाईँलाई चिन्छु,न तपाईँ मलाई राम्रो सँग चिन्नुहुन्छ । हाम्रो ‘डेली’ यहीँ भेट हुन्छ । मैले तपाईँलाई केही महिना अघि देखि नै प्लेटफार्म नं १० मा ५ नं डब्बामा चढ़ने गरेको देखिरहेकै हुँ । सायद तपाईँ र म एउटै रेलको प्रतीक्षामा हुन्थ्यौं,डब्बा मात्र फरक हुन्थ्यो । त्यसैले सर,केही कुरा छन् भने हामीले यहीँ पनि गर्न सक्छौँ । रेस्टुरेन्ट गएर पिउँदै गफिनु पर्ने जरुरी म चाहिँ देख्दिन”

मैले एकै सासमा आफ्ना कुरा सिध्याएँ । मन मनै डराएँ पनि ,”यो नौलो सहरमा यहाँको भुक्तभोगीले कुन स्वार्थको लागि मलाई रक्सीको टेबलसम्म पुर्‍याउन चाहान्छ ? मेरा सङ्घर्षका दिन सुरु हुँदै गरेको सहरमा उसकै शब्दमा सबथोक आर्जन गरेको अपरिचित ऊ सँग म कसरी सजिलै गिलास ठोक्काउन सक्छु? केही त गडबड़ छ !”

ढिलो भयो भन्दै उठ्नै लागेको के थिएँ,उसले हात समातेर बस्न अनुरोध गर्‍यो,
“माफी चाहन्छु सर,मेरो तरिका गलत भयो । तर मेरो नियतमा खोट नदेख्नोस,प्लीज़ । मलाई थाहा छ तपाईँलाई ढिलो भएको छैन,उसैपनि तपाईँ अतिरिक्त समय निकालेर गन्तव्यमा टाइममै पुग्ने मान्छे हो । बरु मलाई भन्नोस त सर, संसारको चित्र आफ्ना शब्दमार्फ़त कागज वा काँचमा उतार्ने सामर्थ्य राख्ने तपाईँले त सजिलै कसैलाई विश्वास गर्न सक्नुहुन्न भने संसारका साधारण मान्छेहरुमा कति खडेरी होला विश्वासको । मेरो अनुहार देख्ने बित्तिक़ै मेरो माया लागेको भए सायद म प्रति विश्वास पलाउँथ्यो होला तपाईँको । तर म त तपाईँलाई मन नै नपरेको मान्छे,माया नै नलागेको मान्छे,कसरी मलाई विश्वास गर्न सक्नुहुन्छ र ? मन परेको भए महिना दिन अघि देखि कार नं ५ बाट तपाईँ सँगै नियमित एउटै रेल चढिरहेको यो नेपाली दाजुभाइलाई देखेपछि तपाईँले बोलाएको भए पनि त हुन्थ्यो नि ! बोलाउनु भयो त ? भएन । किन त भन्दा तपाईँलाई मेरो आवश्यकता छैन । तर मलाई त तपाईँको आवश्यकता भएरै खोजेको हुँला नि ! तैपनि तर्किन खोज्दैहुनुहुन्छ ! विश्वास खोज्न जानुपर्ने चाहिँ कहाँ हो र सर ? कसैको विश्वास र भरोसा जित्न त आइएको होला नि पहाड़ छोडेर मधेस,मधेस छोडेर काठमाडौँ अनि काठमाडौँ छोडेर टोकियो । कि हैन र ? हैन भने भन्नुस के रे !”

म बसें । फेरि पनि नियालेर उसलाई हेरेँ । ऊ जसरी बोल्छ,उसको मन त्यस्तो नहोला जस्तो लाग्यो । ऊ अलि दम्भसाथ बोल्थ्यो,जुन उसको आवरण थियो । अनि उत्तिखेरै सम्पूर्ण आदरभाव र झुकाव सहित ऊ मेरो साथ खोज्थ्यो,जुन उसको आत्मा हुँदो हो । संसारका धेरै मान्छेको आत्मा र आवरण मेल खाँदैन । सायद ऊ ती मध्ये एक थियो । म सदासयता सहित उसको बारेमा अनुमान लगाउन सक्थें । अवस्था कस्तो बनिदियो भने,म नचाहेरै पनि ऊ प्रतिका संशय भन्दा माथि उठ्नुपर्थ्यो अनि चाहेर पनि उसका कुरा सुन्ने फुर्सद मलाई थिएन,कम्तीमा प्लेटफार्म नं १० मा त छँदै थिएन । बल्लतल्ल सम्हालिएर ऊ प्रति अनुग्रही हुँदै म बोलें ।

“त्यस्तो होइन सर,म पनि त टोकियोमा नयाँ छु । मलाई पनि त पिर बेथा बाँढ्ने साथीभाईको खाँचो छ । मात्र ‘टाइमिंग’ र ‘लोकेसन’ नमिलेको हो । तपाईँले मलाई विश्वास गरिसकेपछि मैले तपाईँलाई विश्वास नगर्ने भन्ने कुरै हुँदैन । तर रक्सी पिएर कुरा गर्ने भने पछि मलाई अलि डर डर लाग्छ क्या सर ! रक्सीले मनका भाव खुलाउन त मद्दत गर्छ तर अभिव्यक्तिहरुलाई नियन्त्रणमा राख्न सक्दैन । यो मैले देखे भोगेको कुरा हो । तपाईँ जत्तिको मान्छेले भन्नुहुन्छ भने एक दिन मिलाएर बसौं न कतै,मलाई आपत्ति छैन । आखिर यो बिरानो सहरमा मेरो लिस्टमा एक जना साथी,सहयोगी नै त थपिने हो नि ! म किन पछि हट्छु र सम्बन्ध जोड़नबाट ? आज चाहिँ साँच्चै ढिला भएको छ सर । माफी चाहन्छु ।”

मेरा यति कुरा सुनिसकेपछि उसको मुखाकृति एकाएक उज्यालो भयो । स्पष्ट देखिन्थ्यो, ऊ मेरो गहिरो अनुरागी हो । लाग्यो, म उसलाई विश्वास गर्न सक्छु ।

“सरले मलाई मिठो खुसी दिनुभो आज । म ख़ासमा यो ज़िन्दगीको प्लेटफार्ममा यस्तै यस्तै खुसीको प्रतीक्षा गरेर बसिरहेको साम्भ्रान्त कंगाल हुँ म । हामी हजुरको बिदा हुने दिन भेटौं सर । म त मालिक मान्छे,मलाई बिदा मिलाउन अफ़्टेरो छैन । अफ़्टेरो तपाईँलाई नपरोस । हा हा हा ।”
सनातन कृत्रिम हाँसो सँगै उसले दोस्रो भेटका आफ्ना कुरा टूँग्याउन खोजे जस्तो लाग्यो । मेरो मोबाइल नं उसले लिएपछि उठियो । उठ्दा उठ्दै भन्दै थियो-
“आफ्नो गाडी भएर के गर्नु,मलाई यही रेल चढ़न मन लाग्छ अनि समय भन्दा अघि नै आएर प्लेटफार्ममा आफ़ू चढ्ने आठ/दश ओटा रेल छुटेको हेरेर बस्न मन लाग्छ । मेरो जीवनमा छुटेका खुसी जस्तै लाग्छन यी रेलहरु पनि । हस त सर तपाईँ रेल चढ़नुस,म अझ एक छिन यहीँ बस्छु । आफूले चाहेको मान्छेको सधैभरी साथ त कसले पाउँछ र, जसले जतिबेला जो बाट जहाँ जे निस्स्वार्थ पाएको हुन्छ,त्यसमा रमाउन सकेन भने त्यो मान्छे जत्तिको दुःखी मान्छे अर्को हुँदैन । दिनेलाई त क्षणभरलाई पिडा होला ,लिन नजान्नेलाई जीवनभरको पीडा हुन्छ…”

त्यो रहस्यमयी देखिने तर उसकै मुखबाट आफूलाई साधारण भनिएको साथीका कुरा मैले ड्यूटी नपुग्दा सम्म सम्झिरहें । दोस्रो पटक भेट्न नपरोस भनेको थिएँ अघिल्लो भेट पछि । तर दोस्रो भेट पछि उसलाई तेस्रो पटक भेट्ने व्यग्रताले मनमा आकार बढ़ाउँदै लगेको अनुभूति भइरह्यो ।

क्रमशः

[email protected]