प्रधानमन्त्री देउवाको उतारचढावपूर्ण ३ कार्यकाल र चौंथो सत्तारोहणका चुनौति - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री देउवाको उतारचढावपूर्ण ३ कार्यकाल र चौंथो सत्तारोहणका चुनौति



काठमाडौ, २४ जेठ  

 

चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनौतीका चाङ छन् । आगामी ७ माघसम्म बाँकी सबै निर्वाचनसहित संविधान कार्यान्वयनका चुनौती छन् ।

चार प्रदेशमा स्थानीय तहको निर्वाचन
प्रदेश १, २, ५ र ७ नम्बर प्रदेशमा १४ असारमा स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनुपर्ने पहिलो चुनौती देउवासामु छ । संविधान संशोधन गरेर मधेसकेन्द्रित दलहरूलाई सहमतिमा ल्याउनुपर्ने अर्को चुनौती छ । राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिनेदेखि प्रमुख प्रतिपक्षी एमालेलाई मनाएर संविधान संशोधनका लागि भूमिका खेल्नुपर्ने जिम्मेवारी देउवासँग छ । स्थानीय तहको संख्या थप, प्रदेश र संसद्को निर्वाचन आगामी ७ माघसम्म गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई पूरा गर्नुपर्नेछ । प्रदेशको निर्वाचनअघि थाती रहेको सबैभन्दा विवादित विषय संघीय सीमांकनमा सहजीकरण गरेर निकास निकाल्नुपर्ने देउवासामु अर्को चुनौती छ ।

पार्टीको छवि र साख जोगाउने
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा मुख्य पदमा कांग्रेसले प्रतिस्पर्धी पार्टी एमालेभन्दा २० सिट कम जितेको छ । यसअघि आफ्नो प्रभाव क्षेत्रका साथै सचेत मतदाता रहेका सहरी क्षेत्रमा कांग्रेस धेरै ठाउँमा पराजित भएको छ । दोस्रो चरणको निर्वाचनमा गिर्दो साख र शक्ति फर्काउनुपर्ने अवस्थामा देउवा छन् ।

पहिलो चरणको निर्वाचनअघि राजदूत सिफारिस, आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगजस्ता विषयले कांग्रेसलाई कमजोर बनाएको भन्दै पार्टीमा नेता रामचन्द्र पौडेल पक्षले देउवामाथि प्रश्न उठाएको छ । दोस्रो चरणको निर्वाचनमा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको तराईका सहर–गाउँमा कांग्रेसलाई विजयी बनाउनुपर्ने चुनौती पनि देउवालाई छ ।

सभापति निर्वाचित भएको १५ महिना बित्न लाग्दासमेत पदाधिकारी चयन नगरेको, विभाग गठन नगरेको, केन्द्रीय समितिलाई पूर्णता नदिएको दोष पनि देउवामाथि छ । अब प्रधानमन्त्री र पार्टी सभापतिको कार्यभार पूरा गर्नुपर्ने दोहोरो जिम्मेवारीमा देउवा छन् ।

लोडसेडिङ हुन नदिने र आर्थिक वृद्धि बढाउने चुनौती
एक वर्षअघिसम्म दश घन्टासम्म लोडसेडिङ हुँदै आए पनि पछिल्लो आठ महिनायता काठमाडौंसहितका मुख्य सहर लोडसेडिङमुक्त छन् । विद्युत्को व्यवस्थापन मात्र हुँदा पनि लोडसेडिङ निर्मूल भएको अवस्थालाई देउवा सरकारले पनि निरन्तरता दिनुपर्नेछ । साथै, अहिले झन्डै ७ प्रतिशतको हाराहारीमा भएको आर्थिक वृद्धिद्धरलाई घट्न नदिई बढाउनुपर्ने चुनौतीमा उनी छन् । उनीसामु पुनर्निर्माणलाई सहज र प्रभावकारी बनाएर अगाडि बढाउनुपर्ने चुनौती पनि छ । दुई छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने अवस्थामा उनी छन् ।

यस्तो थियो देउवाको उतारचढावपूर्ण तीन कार्यकाल

पहिलोपटक १८ महिना
देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै वेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०४८ मा गृहमन्त्री बनेका देउवा ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक १४ महिना
११ साउन ०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बने । दोस्रो कार्यकाल १४ महिना रह्यो । यो अवधि निकै उतारचढावपूर्ण रह्यो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेका वेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले १९ जेठ ०५९ मा देउवालाई प्रधानमन्त्री भएकै वेला साधारण सदस्यताबाट समेत निष्काशन गरेका थिए । त्यसपछि ४ असोज ०५९ मा देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । अलग कांग्रेस गठन गरेको १५ दिनपछि नै देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अपदस्थ भए । निर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरेका थिए ।

तेस्रोपटक आठ महिना
पहिले अक्षम घोषणा गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले २८ जेठ ०६१ मा देउवालाई पुनः प्रधानमन्त्री बनाए । तर, आठ महिनापछि १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिए । तेस्रोपटकको देउवाको प्रधानमन्त्रीकाल आठ महिनाभन्दा अघि बढ्न सकेन ।

देउवाका सबल पक्ष : कुनै पनि विषयलाई अड्काउन नहुने भन्दै समस्याको गाँठो छिटै फुकाउन लचिलो

कमजोर पक्ष : शक्तिमा आउन सबै अस्त्र परिचालन गर्ने आरोप देउवालाई लाग्ने गरेको छ ।

डा. शेखर कोइरालाको नजरमा देउवाका चुनौती
प्रधानमन्त्री भएसँगै देउवाको सबैभन्दा ठूलो र पहिलो चुनौती १४ असारमा दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउनु नै हो । निर्वाचनमा राष्ट्रिय जनता दललाई पनि ल्याउनुपर्छ । त्यसपछिको दोस्रो ठूलो चुनौती भनेको विपक्षी एमालेलाई समेत मनाएर संविधान संशोधन गर्नु हो । स्थानीय तहको निर्वाचन र संविधान संशोधन हुने विषयले प्रदेशको सीमांकन, निर्वाचनदेखि संसद्को निर्वाचनसम्मलाई सहजता प्रदान गर्छ । यसकारण पनि संविधान संशोधनलाई सहमतिमा टुंग्याएर संविधान संविधानले दिएको ७ माघको दायराभित्र प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने चुनौती प्रधानमन्त्रीमाथि छ ।

पार्टीभित्र पनि चुनौती छन् । पहिलो चरणमा टिकट वितरणमा केही कमजोरी हुँदा हामी सहरी क्षेत्रमा हार्न पुग्यौँ । अब दोस्रो चरणको निर्वाचनमा हामीलाई त्यस्तै गल्ती गर्ने सुविधा छैन । पार्टीमा पदाधिकारी, विभाग गठनसहितका संरचनालाई पूर्णता दिएर सांगठनिक रूपमा चुस्तदुरुस्त पार्टी बनाउँदै प्रदेश र संसद्को निर्वाचनमा भिड्न सक्ने पार्टी बनाउनुपर्ने चुनौती देखिएका छन् ।

१२ वर्ष चार महिनापछि प्रधानमन्त्री बनेका देउवा

 पारिवारिक पृष्ठभूमि
बाबु श्रीप्रसाद सिंह र आमा दौपद्रीका जेठो सन्तानका रूपमा देउवा ३१ जेठ ००३ मा डडेल्धुराको असिग्राम–५ रुवाखोलामा जन्मिएका हुन् । डोटी राज्यकालमा चर्चित बनेका क्षेत्रीय राजपुत (ठकुरी) देउवाहरू यसै कुलका पूर्वजहरू थिए । प्रधानमन्त्री देउवाका लोकबहादुर, गणेशबहादुर, प्रेमबहादुर, ललितबहादुर र बलबहादुर गरी पाँच भाइ छन् । दाजुभाइमध्ये शेरबहादुर मात्र राजनीतिमा छन् । उनकी श्रीमती आरजु राणा कांग्रेस सांसद छिन् । देउवाका एक मात्र छोरा जयवीर देउवा बेलायतमा अध्ययनरत छन् ।

 राजनीतिक जीवन
०२० देखि कांग्रेस राजनीतिमा होमिएका देउवा ०२८ मा नेविसंघको सभापति बने । उनी ०२८ देखि ०३६ सम्म नेविसंघको सभापति बनेका थिए । ०४८ मा डडेल्धुराबाट सांसद जिते । ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बने । उनी ०५२, ०५८ र ०६१ मा प्रधानमन्त्री बने । तीन कार्यकालमा गरी देउवा तीन वर्ष चार महिना प्रधानमन्त्री बने । देउवा एकपटक मन्त्री र चारपटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।

देउवाले ०५१ र ०५६ डडेल्धुराबाट निर्वाचन जिते । ०६४ को संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी भए । ०७० को दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ६ बाट निर्वाचित भए । देउवा पटक–पटक गरी १० वर्ष १० महिना जेल परेका छन् । ०५९ असोजमा कांग्रेसबाट अलग भई देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०७२ फागुनमा काठमाडौंमा भएको १३औँ महाधिवेशनबाट देउवा कांग्रेस सभापति चुनिएका हुन् ।

 शैक्षिक योग्यता
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । देउवाले बेलायत लन्डनको स्कुल अफ इकोनमिक्स (राजनीतिशास्त्र) मा सन् १९८९ मा अनुसन्धान गरेका छन् ।

 

 

आजको नयाँ पत्रिकामा  खबर छ ।