प्रधानमन्त्री चुनावी सभा गर्न मधेश जाने, यस्तो छ तालिका - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री चुनावी सभा गर्न मधेश जाने, यस्तो छ तालिका



भदौ २६, काठमाडौँ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लामा चुनावी सभा गर्ने भएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवा भदौ २७ गते प्रदेश २ को निर्वाचन प्रचारमा निस्केर ३० गते राजधानी फर्कने कार्यक्रम छ ।

 

सभापति देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नेछन । सम्बोधनपछि पार्टी कार्यकर्तासँग भेटघाट गरेर उनि सोही दिन सिरहाको जिरो माइलमा पुगेर अर्को आमसभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जानकारी दिएको छ । सिरहापछि त्यही दिन देउवा जनकपुर जाने कार्यक्रम छ । उनले २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नुका साथै कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जानकारी दिएको छ ।

जनकपुरको सम्बोधनपछि देउवा महोत्तरीको बर्दिबासमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भदौ २९ गते देउवाले सर्लाहीको मलङ्गवा र रौतहटको गौरमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । रौतहटको कार्यक्रमलाई सम्बोधन गरेपछि देउवा वीरगन्ज जाने र भदौ ३० गते बिहान पर्साका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जानकारी दिएको छ । उनले त्यही दिन दिउँसो बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन । कलैयापछि वीरगन्जको चुनावी सभालाई सम्बोधन गरेपछि देउवा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।