आफ्नै मर्यादा थाहा नभएका प्रधानमन्त्री - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आफ्नै मर्यादा थाहा नभएका प्रधानमन्त्री



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरीत भेट गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लंघन गरेका हुन्।

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ। प्रधानमन्त्री ओलीले शंका निवारणका लागि पनि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपथ्र्यो। तर उनले त्यस्तो आवश्यकता ठानेनन्। भारतीय गुप्तचर संस्था रअ प्रमुखसहित नौजनाको टोली चार्टर्ड विमानमा काठमाडौं आउनु र प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किनुलाई सामान्य शिष्टाचार मात्रै मान्न नसिकने कूटनीतिक तथा राजनीतिक क्षेत्रका विज्ञको दाबी छ।

परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिईकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरायो भन्ने प्रश्न पनि उठेको छ। काठमाडौंस्थित भारतीय दूतावास वा अन्य निकायले भेटघाटको व्यवस्थापन गरेको हो भने पनि त्यसको जानकारी नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई हुनुपथ्र्यो तर त्यसो भएन। विभागका अधिकारीहरूले यसबारे अनभिज्ञता प्रकट गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि यसबारे अनभिज्ञता प्रकट गरेकी छिन्। यसबाट रअ प्रमुखलाई सीधै प्रधानमन्त्री निवासमा लगेर कुन निकाय वा व्यक्तिले भेट गराएको हो भन्ने प्रश्न उठेको छ। त्रिभुवन विमानस्थलमा बुधबार मध्याह्न अवतरण गरेलगत्तै रअ प्रमुख गोयलले भारतीय दूतावासका अधिकारी, केही राजनीतिक दल एवं सामाजिक क्षेत्रसँग आबद्ध मानिससँग भेटघाट गरेका थिए। प्रधानमन्त्री ओली दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले राति भेट भएको हो। रअ प्रमुखसहितका अधिकारी बुधबार नै फर्किने हिसाबले काठमाडौं आएका थिए। तर दिउँसो प्रधानमन्त्रीसँग भेटका लागि समय नमिलेपछि रअका अधिकारी राति यतै बस्नुप¥यो। राति नै रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटे।

‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्छ ।’

राति अबेर बालुवाटारमा प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको भेटले कूटनीतिक क्षेत्रको गरिमा घटाएको र नेपाल–भारत सम्बन्ध कूटनीतिकभन्दा पनि गुप्तचर निकायसँग गाँसिन गएको हो कि भन्ने आशंका जन्माएको छ। यो भेटलाई लिएर सत्तारूढ दल नेकपाभित्र र बाहिर पनि विरोध भएको छ। सत्तारूढ दलका प्रमुख नेताहरूले यसलाई सामान्य रूपले हेर्न नहुने बताएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले यो भेटलाई गैरजिम्मेवारीको पराकाष्ठ भएको बताएका छन्। नेतात्रयले खुलेर आफ्ना धारणा सार्वजनिक नगरे पनि ओली–गोयल भेट कूटनीतिक मर्यादाविपरीत भएको बताएको निकट स्रोतले जनाएको छ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचारसंहिता, २०६८ जारी गरेका थिए। आचारसंहितामा विदेशका उच्च अधिकारीसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारी वा विषय विज्ञ साथमा हुनुपर्ने उल्लेख छ। ‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्छ,’ आचारसंहितामा छ। त्यसअनुसार प्रधानमन्त्री ओलीले पनि रअ प्रमुख गोयलसँगको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी वा राष्टिय अनुसन्धान विभागका अधिकारीलाई साथमा राख्नुपथ्र्यो तर उनले त्यसो नगरेको स्रोतको दाबी छ। श्रेष्ठ अहिले सत्तारुढ नेकपाको प्रवक्ता छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र रअ प्रमुखबीच भेट भएको औपचारिक जानकारी दिएका छन्। ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो। भेटका क्रममा उहाँले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको समाधान वार्ताद्वारा गर्ने र पारस्पारिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा धारणा राख्नुभयो,’ थापाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा उल्लेख छ। तर प्रधानमन्त्री ओलीले गोयलसँग के–के विषयमा छलफल गरे भन्नेबारेमा थापाले केही उल्लेख गरेका छैन।

गोयलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवासँग पनि भेट गरेको प्रचारबाजी भए पनि उनीहरूको सचिवालयले त्यसलाई खण्डन गरेको छ। ‘रअ प्रमुख गोयलले प्रधानमन्त्री, केही राजनीतिक र सामाजिक व्यक्तिहरूसँग भेटघाट गरेका हुन्, सत्तारूढ र प्रतिपक्षी दलका उच्च तहका नेतासँग भने भेटघाट भएन,’ स्रोतले भन्यो। राजनीतिक विश्लेषक हरि रोका सरकारले नै रअ प्रमुखलाई नेपाल भ्रमणका लागि निम्ता गरेको आशंका गर्छन्। ‘परराष्ट्रलाई निकम्मा जागिरे बनाइनु, शिक्षाले आफ्नै किताब प्रतिबन्ध लाउनु, भारतीय सेनाप्रमुख नेपाल आउने घोषणाअघि रक्षामन्त्रीलाई कारिन्दाजस्तो बनाइनु र यस्तो अवस्थामा रअ प्रमुख काठमाडौं आउनुले’ यस्तो आशंका गर्न सकिने उनले बताएको टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन्।

कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले यस्ता भ्रमण सामान्य भए पनि सरकारले पारदर्शिता अपनाउन नसक्दा विवादास्पद हुने गरेको बताए। ‘कूटनीतिक मर्यादा पालना गर्ने हो भने यस्ता भ्रमण सामान्य हुन् तर सरकारमा रहेका नेताहरूले त्यसलाई पालना नगर्दा विवादमा पर्छन्। जसको असर कूटनीतिक क्षेत्रमा समेत परेको छ’, उनले भने। उनका अनुसार सरकारले विदेशी गुप्तचर निकायका अधिकारीहरूसँगको भेटघाटमा भने पारदर्शिता अपनाउनुर्छ। ‘नेपालमा भारतीय हुन् वा अन्य मुलुकका खुफिया एजेन्सीका व्यक्तिहरूसँगको भेटघाट पारदर्शी छैन। जसले गर्दा यस्ता भेट सधै शंकाको घेरामा परिहन्छन्’, श्रेष्ठले भने।

साझा पार्टीको आपत्ति

साझा पार्टीले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख गोयलसँग गरेको भेटलाई लिएर आपत्ति जनाएको छ। साझा पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोयललाई विशेष दूतका रूपमा प्रधानमन्त्री ओलीसँग भेट्न पठाएका हुन् भनी प्रश्न गरेको छ। ‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूतका रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्,’ पार्टी प्रवक्ता शरद्राज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्छ। ’ प्रधानमन्त्रीको तहबाट खुफिया प्रमुखलाई भेट्नु नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथिको ठाडो आक्रमण भएको साझाले जनाएको छ।