प्रधानमन्त्री ओलीको सचिवालय आक्रोशित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री ओलीको सचिवालय आक्रोशित



काठमाडौं- सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै बालुवाटारमा बसेको एमाले बैठकमा सहभागी भएका नेताहरुमा कोरोना संक्रमित भएपछि संचार माध्यममा आएका समाचारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय आक्रोशित बनेको छ । संचार माध्यममा प्रधानमन्त्री पनि कन्ट्याक ट्रेसिङमा भनि समाचार प्रकाशन भएपछि सचिवालयका सदस्य क्रुद्ध बनेका हुन् ।

नेताहरू एकपछि अर्को गर्दै संक्रमित भैरहेका बेला सोहि बैठकमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने आइसोलेसनमा नबसेर छलफलमा सहभागी समेत भैरहेका छन् । नजिकै बसेका नेताहरूलाई लगालग कोरोना संक्रमण देखिएपछि नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेपनि आइसोलेसनमा भने बसेका छैनन् ।

उनी आइसोलेसनमा नबसेको प्रधानमन्त्रीको सचिवालयकै सदस्यहरूले सामाजिक संजालमार्फत जनाएका छन् ।

गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ । ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ ।

केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कन्ट्याक्ट ट्रेसिङमा परेपछि आइसोलेसनमा बसेको समाचार सम्प्रेषण गरेका थिए । त्यसै समाचारलाई लिएर प्रधानमन्त्री ओलीका सचिवालय सदस्यहरू आक्रामक बनेका छन् ।

उक्त समाचारको खण्डन गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले आक्रोश पोखेका छन्, उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीसँग केही मन्त्रीहरुले छलफल गरेको फोटो सार्वजनिक गर्दै त्यस्तो समाचार भ्रमपूर्ण भएको बताएका हुन्।