राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन: कोरोना खोप मुनाफा कमाउने माध्यम नबनोस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन: कोरोना खोप मुनाफा कमाउने माध्यम नबनोस



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको र महामारीको त्रासदी अकथनीय रहेको बताए । उनले भने, ‘विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी हो ।’

कोरोना महामारीबाट कोही पनि सु्रक्षति नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं । महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।’

अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटका लागि तयार नभएको अवस्थाबाट जनस्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको उनले बताए । ‘शून्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ।

संकटको घडीमा विश्वव्यापी समन्वय र नेतृत्वका लागि संयुक्त राष्ट्र संघ तथा विश्व स्वास्थ्य संगठनको पनि प्रधानमन्त्री ओलीले सराहना गरे ।

गरिबी, भोकमरी तथा बढ्दो असमानतालगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता गम्भीर चुनौतीहरु सामना गर्नसक्ने बहुपक्षीय सशक्त भूमिकाको खाँचो रहेको प्रधानमन्त्रीले बताए । उचित पुन:स्थापना र असल पुनर्निर्माणका योजना बनाउँदै गर्दा एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूलका प्रयासहरुलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्रीले सम्बोधनका क्रममा उल्लेख गरे ।