विवादित बन्यो प्रधानमन्त्रीको अमेरिका भ्रमण, संसदीय समितिले पनि डाक्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विवादित बन्यो प्रधानमन्त्रीको अमेरिका भ्रमण, संसदीय समितिले पनि डाक्यो



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विवादित बनेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन नेकपा एमालेले माग गरेलगत्तै संसदीय समितिले उनलाई छलफलका लागि डाकेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकले आगामी असार ५ गते अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन् ।

बैठकमा समिति सदस्यहरूले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । सांसद माधवकुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।

सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्न चिह्न उठेको बताए । उनले अमेरिकामा विभिन्न सहमति हुने चर्चा सुनिएको भन्दै त्यसबारे प्रष्ट हुनुपर्ने उल्लेख गरे ।

सांसद भीम रावलले समितिमा जानकारी गराउँदा प्रधानमन्त्रीले अपमानका रुपमा सोच्न नहुने बताए । बैठकमा अन्य सदस्यहरूले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।