कविता : औँलाहरू - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कविता : औँलाहरू



~कुमार नगरकोटी~

कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु,
जो जीवनको तीर्थयात्रामा कतै छुटिरहे
ती कोमल मुलायम औँलाहरू
ती न्याना प्रेमिल औँलाहरू
ती चिसा फ्रोजन औँलाहरू ।
कुनै अद्‍भूत किताबको पानाहरू पल्टाइरहेका औँलाहरू
सङ्गीतको स्वप्निल सरगममा नृत्यमग्न औँलाहरू
एक लाछी ऊनको घर बनाउन कुरुशमा चल्मलाउने औँलाहरू
चित्रकारिता गर्ने क्यान्भास सामु रङ्गीन बुरुशमा तत्पतिएका औँलाहरू
धूलो जमेको ऐनामा आफ्नो नाम लेखिरहेका औँलाहरू ।

बयरको झाडीमा अल्झिएका औँलाहरू ।
प्रियसीका अधरमा बल्झिएका औँलाहरू ।
केही औँला त यस्ता हुन्छन्
जो कविता लेख्दालेख्दै काव्य-सङ्ग्रहको पाण्डुलिपिभित्र कतै छुट्छन्
जसरी केही औँला प्रेमपत्र लेख्दालेख्दै
कलमहरूमा छुट्छन् ।
केही औँला बाँसुरीका प्वालहरूमा छुट्छन्
र केही औँला वीणाका तारहरूमा
मानौँ ती हिउँदका बर्फिला औँलाहरू हुन्
जो ज्याकेटका गोजीहरूमा छुट्छन् ।
केही औँला मन्दिरका सस्याना घण्टीहरूमा छुटे
टिङ-टिङ-टिङ-टिङ-टुङ
केही कलशमा
जसरी पुतली समाउन उडेका औँलाहरू बतासमा छुटे ।
जीवन-मझदारको डुङ्गामा
केही औँला
बहानामा
छुट्छन्
केही औँला धर्मग्रन्थका पानाहरूमा
जसरी ध्यानमुद्रा औँलाहरू
जप-मालाका दिव्य
दानाहरूमा
छुट्छन्
कामना तथा प्रार्थनामा उठ्ने औँलाहरू कता छुटिगए भने
म कहिलेकाहीँ सोचिबस्ने गर्छु
व्यथित हुने गर्छु
माता, पिता तथा गुरुका चरण स्पर्श गर्ने
पवित्र औँलाहरू कहाँ कता छुटे
जीवनको नवजात निर्मल मुहारलाई
आस्थाले सुम्सुम्याउने ती निर्दोष औँलाहरू कहाँरकता छुटे ?
र,
कता छुटिगए
मृत्युको बुढ्यौली कायालाई
मायाले सुम्सुम्याउने श्रद्धालु औँलाहरू ?
अनेकले मेरा अनेक औँला लिई गए
अब त मसित कुनै गुप्त गुनासो पनि रहेन ती अनेकप्रति
जसले मेरा एक-एक औँला कैले सापटीमा र कैले उधारोमा र कैले मुफ्तमा लिई गए
ताते-ताते गरी हिँड्नुपर्‍यो भनी
बच्चाहरूले कान्छी औँला लिइगए
वेडिङ-रिङ लगाउनुपर्‍यो भनी
प्रेमिकाहरूले अनामिका औँला लिई गए
दुश्मनलाई देखाउन भनी
मित्रहरूले माझी औँला लिइगए
पथिकहरूलाई घाट र घरतिरको
पथ प्रदर्शन गर्न
वैरीहरूले चोरऔँला लिई गए
जसरी
नागरिकता, तमसुक, मृत्युपत्रमा
ल्याप्चे लगाउन भनी शुभचिन्तकहरूले बुढी औँला लिई गए
कहिलेकाहीँ म सोच्नेगर्छु
तपाईंलाई पनि त यदाकदा ती औँलाहरूको असीम याद आउँदो हो
जो सेतो खरीसितै कालोपाटीमा छुटिगए
जो डाँठसितै फूलका थुङ्गाहरूमा छुटिगए
जो धागोसितै सियोका टुप्पामा छुटिगए ।
जो तासका पत्तीहरूमा छुटे ।
जो सिग्रेटका फिल्टरहरूमा छुटे ।
जो मदिराका प्यालाहरूमा छुटे ।
जो रिभोल्भरका
ट्रिगरहरूमा
छुटे ।

-0-

( २०१७ को नेपाल लिट्रेचर फेस्टिवलमा प्रस्तुत कविता )