पोखरा कांग्रेसले देउवाको निर्णय नमान्ने, पार्टी निर्णयविरुद्ध विद्रोह गर्ने संकेत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पोखरा कांग्रेसले देउवाको निर्णय नमान्ने, पार्टी निर्णयविरुद्ध विद्रोह गर्ने संकेत



कास्कीका कांग्रेस नेताले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेटेर पार्टीले गरेको निर्णयविरुद्ध बिद्रोह गर्ने संकेत देखाएका छन् ।

पोखराबाट बालुवाटार पुगेर मंगलबार दिउँसो सभापतिलाई भेटेका नेताले जिल्लामा नेकपा एकीकृत समाजवादीलाई टिकट दिँदा गठबन्धनको हार हुने जानकारी गराएका छन् ।

‘६०/६५ हजार मत हामीले होल्ड गर्छौँ । त्यो मत थोरै मत भएका पार्टीमा लगेर खन्याउनु ज्यादै अव्यावहारिक छ,’ बैठकपछि नेता यज्ञबहादुर थापाले भने, ‘गठबन्धन गर्न हुँदैन, भत्काउनपर्छ भन्ने हाम्रो भनाइ होइन । माधव नेपाल, प्रचण्डलाई वस्तुस्थिति अवगत गराइयोस् भनेर जिल्लाको एक्स–रे प्लेट राखिदिएका छौँ ।’

जवाफमा सभापति देउवाले गठबन्धनका अरु पार्टीलाई समेट्नुपर्ने दायित्व बुझिदिन आग्रह गरेका थिए । ‘गठबन्धनको कुरा छ । गठबन्धनका अरु पार्टीलाई समेट्नुपर्ने दायित्व र जिम्मेवारी छ । त्यसलाई तपाइँहरूले बुझ्नुपर्छ भन्ने शिष्टतापूर्ण आग्रह गर्नुभयो,’ थापाले सभापति देउवाको भनाइ उदृत गर्दै भने ।

पोखरा महानगरपालिकाको मेयरको टिकट समाजवादीले पाउने गठबन्धनमा पक्कापक्की भइसकेको छ । तर, जिल्लाका कांग्रेस नेताहरू सानो दललाई छोड्न नसक्ने बताइरहेका छन् ।

कास्कीमा गठबन्धनमा समस्या देखिएपछि सभापति देउवाले कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र अर्का नेता यज्ञबहादुर थापालाई मंगलबार काठमाडौं बोलाएका थिए ।

पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने चर्चा चलेपछि कांग्रेस र समाजवादीबीच कास्कीमा मनमुटाव सिर्जना भएको छ ।

कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार दिउँसो विज्ञप्ति निकालेर पोखरामा मित्रवत् प्रतिस्पर्धा अर्थात् एक्ला–एक्लै चुनाव लड्ने बताएका थिए । त्यसपछि सभापति देउवाले स्थानीय नेताहरूलाई छलफल गर्न काठमाडौँ बोलाएका हुन् ।