पोल गाडेको आधा दशक बित्दा पनि बिजुली बलेन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पोल गाडेको आधा दशक बित्दा पनि बिजुली बलेन



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाका विभिन्न वडामा पोल गाडिएको आधा दशक भन्दा बढी पुगिसक्दा समेत बिजुली बल्न सकेको छैन् ।

घोडाघोडी नगरपालिकाका वडा नं ४,५ ,७ र ९ मा बिजुलीको पोल गाडेको ६ वर्षभन्दा बढि भएपनि तार विस्तार नहुदा बिजुली बल्न नसकेको हो ।

नगरपालिकाका विभिन्न वडाहरुमा तीन बर्ष भित्र विद्युत ल्याउने भन्दै १५ सय देखि २५ सयसम्म प्रत्येक घरधुरीबाट पैसा उठाएर घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थालाई जिम्मा दिइएपनि अहिलेसम्म बिजुली नपुगेको घोडाघोडी नगरपालिका ५ का बासिन्दा देव बहादुर नेगिले बताए । उनले भने, ‘बिजुलि पाउने आशमा प्रत्येक घरधुरीबाट पैसा उठाएर दिएको आठ बर्ष बितिसक्यो अझै बिजुलि बलेको छैन ।’ सहकारी संस्थाले आज आउला भोलि आउला भन्दै
आफुहरुलाइ झुक्याउने काम मात्र गरेको छ ,उनले थपे ।

त्यस्तै अर्कि स्थानिय लक्ष्मी कार्किले पुर्व पश्चिम् राजमार्गबाट १ किलोमीटर पनि टाढा नरहेको ठाउँमा बिजुली नपुग्दा आफुहरु नगरको बासिन्दा भन्न समेत लाज लागेको बताइन् । उनले हाइवे क्षेत्र बाट नजिक भएपनी सोलार बालेर बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले भनिन, ‘विद्युत आउने आशमा सबै मिलि १५ सय देखि ३५ सय सम्म पैसा उठाएर घोडाघोडी विद्युत सहकारीलाई दियौ तर आज भोलि भन्दा भन्दै ८ बर्ष बित्यो न बिजुली पाइयो न त आफ्नो पैसा नै ।’ उनले थपिन, चुनाव आउने बेलामा जनप्रतिनिधिहरुले पनि चाडै नै बिजुली ल्याउने भनेर चिल्लो भाषण मात्र गरे , स्थानीय सरकार आएको पनि २ बर्ष बित्यो तर गरेको बाचा पूरा भएन ।’

त्यस्तै अर्का वडा नं ७ का बासिन्दाले आफुहरुले पटक पटक जानकारी दिदा पनि विद्युत सहकारी तथा नगरपालिकाले चासो नदिएको बताए । हामिहरुले बाख्रा ,कुखुरा बिक्रि गर्ने देखि ब्याजिमा पैसा खोजेर बिजुली आउने आशमा पैसा दिए पनि अहिलेसम्म बिजुलि नपुगेको उनले गुनासो गरे ।

पैसा तिरेको ८ बर्ष बितिसक्दा पनि बिजुलि नबल्दा स्थानिय आन्दोलित

घोडाघोडी नगरपालिकाका केहि वडामा पोल गाडेको आधा दशक भन्दा बढी भइसक्दा पनि बिजुलि पुग्न नसक्दा स्थानीय बासिन्दाहरु आइतबार आन्दोलनमा उत्रेका छन ।

घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्था सुखडले २०६९ सालमा बिद्युत नपुगेका ठाउका जनतासंग १५ सय र २५ सयका दरले रकम उठाई ३ वर्ष भित्र बिद्युत पुर्याउने भन्दै सम्झौता गरेपनि सम्झौता गरेको ८ वर्ष बिति सक्दा पनि अझै बिजुली नपुग्दा स्थानीयहरु आन्दोलनमा उत्रेका हुन ।

घोडाघोडी वडा नं ५ र ७ का स्थानियले र्‍याली निकालि वडा नं ५ को कार्यालय र घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्थामा ताला बन्दि समेत गरेका छन । स्थानिय सरकार बिजुली दे, घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्था खारेज गर,घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्था चाही दैन,हाम्रो पैसा फिर्ता गर जस्ता नारा लगाउदै स्थानियले नगरपलिका कार्यालय घेराउ गरेका थिए ।

पटक पटक आन्दोलनमा उत्रिएका स्थानियले एक साता अघि इलाका प्रशाशन, नगरपालिकाको कार्यालय,वडा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए । एक साता सम्म पनि कुनै पहल नचालेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका संयोजक देब बहादुर नेगिले बताएका छन ।

यता घोडाघोडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रेम रोकायाले स्थानियले गरीरहेको आन्दोलन जायज रहेको बताए । उनले भने, ‘बिगत ८ बर्ष देखि विद्युत सहकारी संस्थाले १८ महिनामा बत्ति बाल्छु भनेर पैसा उठाएपनी अहिलेसम्म कुनैपनी पहल नगरेको अवस्थाले गर्दा
जनप्रतिनिधिले पनि काम नगरेको भनि वडामा ताला लगाउनु र आन्दोलन गर्नु स्वभाविक हो ।’ साथै अध्यक्ष रोकायाले आफुले पनि कानुनि रुपमा पहल गरीरहेको बताउदै सहकारीले बिजुलि बाल्छ भन्ने बिश्वास अझै पनि नरहेको बताए ।

त्यस्तै घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष भिम बढुवालले नेपाल बिद्युत प्राधिकरणले ठेक्का गरेकाले सरकारले नै काम गर्न ढिला गरेको आरोप लगाए । बढुवालले आफू पटक पटक सांसद ,जनप्रतिनिधिहरु
सङ्गै विद्युत प्राधिकरणको कार्यालयमा पुगेर ठेकेदारसंग चैत मसान्त भित्र सक्ने भनी कागज गरेपनी सरकारले कुनै कदम नचालेको बताए । उनले भने , ‘मैले कामको लागि पटक पटक पहल गरेपनी मन्त्रालयले कानमा तेल हालेर सुतेको र ठेकदारहरुलाई पुल-पुल्याएर राखेको छ ।’

विद्युतका लागि वडा बाट १० प्रतिशत रकम संकलन र घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले ९० प्रतिशत लगानी गर्ने सहमति भएअनुसार टेन्डर आह्वान गर्दा
विद्युतिकरणको ठेक्का ललितपुरको जनमुखी कन्ट्रक्सन प्रा.ली. ठेक्का पाएको थियो ।