कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे



बझाङ ।

चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् ।

गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा तोडफोड गरेका छन् ।
शुक्रबार राति मदिरा सेवन गरेको समूहको आक्रमणमा परेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएका हुन् ।

जिल्ला वन कार्यालय अगाडि प्रहरी जवान पनेरुलाई ढुंगा प्रहार गरेर घाइते बनाएको समुहले देउरा प्रहरी चौकीमा प्रवेश गरेर अन्य तीन जना प्रहरी जवानमाथि आक्रमण गरेका प्रहरी निरीक्षक रामबहादुर चन्दले बताए ।
घाईते प्रहरी जवानहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले प्रहार गरेका ढुंगा लागेर गस्तीमा प्रयोग गरिएको भ्यानमा पनि क्षति पुगेको चन्दले जानकारी दिए । प्रहरी जवानमाथि आक्रमण गरेको आशंकामा प्रहरीले खप्तड–छान्ना गाउँपालिका–१ का मुकुन्द थापा, थलारा गाउँपालिका–२ का रमेश खाती र भक्त खातीलाई पक्राउ गरेको छ ।

चुनाव जितेपछि विजयोत्सव मनाउन चैनपुर बजार क्षेत्रमा पुगेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरु मदिराको नशामा उग्र भएपछि प्रहरीले व्यापक धरपकड गरेको थियो । प्रहरीको धरपकड प्रति आक्रोसित व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् ।
बजारमा मदिरा सेवन गरेर होहल्ला गरिरहेको समुहले शान्ति खल्वल्याउन थाले पछि प्रहरीले समझाउन खोजेपनि धरपकड भने नगरेको प्रहरी निरीक्षक चन्दले बताए ।