साबधान ! ‘पन्डस’ क्रिमले महिलाहरूको बेहाल, ज्यान नै जोखिममा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

साबधान ! ‘पन्डस’ क्रिमले महिलाहरूको बेहाल, ज्यान नै जोखिममा



एजेन्सी । अमेरिकामा पहिलोपटक एक महिलालाई गोरो हुने क्रिमका कारण ‘मर्करी पोइजनिङ’ भएको छ ।

क्यालिफोर्नियास्थित ती महिलाले विगत् सात वर्षदेखि ‘पन्डस’ कम्पनीको एउटै क्रिम लगाइरहेकी थिइन् जसले नै उनको छालामा पोइजनिङ गराएको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले रिपोर्ट गरेको छ ।

४७ वर्षीया ती महिला गत जुलाईमा जीउमा घोचेको जस्तो र पाखुरा हातहरु कमजोर भएको भन्दै डाक्टरकहाँ पुगेकी थिइन् । त्यसको दुई हप्तापछि नै फेरि उनी आखाँले सबै धमिलो देखिरहेको र बोल्नमा पनि कठिनाइ भएको समस्या लिएर पुनः अस्पताल फर्किएकी हुन् ।

जसपछि उनलाई डाक्टरहरुले युनिभर्सिटी अफ क्यालिफोर्नियामा भर्ना गरिदिए ।

अस्पतालका अनुसार उनको अवस्था लगातार कमजोर र अस्वस्थ भइरहेको थियो ।

यसबीच परीक्षणका क्रममा उनको शरीरमा असाधारण रुपमा अति उच्च मात्रामा ‘मिथायल मर्करी’ रहेको पत्ता लागेको हो ।

मिथायल मर्करी अत्यन्तै विषाक्त तत्व मानिन्छ जसले हाम्रो स्नायु प्रणालीलाई दिर्गकालीन रुपमा गम्भीर क्षति पुर्याउन सक्छ । सिडिसीको रिपोर्टमा पनि उनलाई पुगेको नोक्सानले स्थायी रुप लिने सम्भावना बढी रहेको जनाएको छ ।

उनको परिवारले स्वास्थ्य अधिकारीहरुसँग बताए अनुसार उनले पछिल्लो सात वर्षदेखि मेक्सिकोबाट एउटा क्रिम मंगाएर दैनिक दुईपटक लगाउने गरेकी छन् ।

‘पन्डस रेज्युभेनेस’ नामक सो क्रिममा नै निर्माण प्रक्रियाका क्रममा अधिक मर्करी मिसावट भएको बताइएको छ ।

चाउरीपन र अनुहारका दागहरु हटाउन उनलाई साथीहरुले सो क्रिम प्रयोग गर्न सुझाव दिएका थिए ।

तर परीक्षणपछि त्यसमा नै मिथायल मर्करी मिसावट भएको पाइएको हो ।

अधिकारीहरुका अनुसार त्यसमा प्रति १२ हजार पार्टमा १० लाख बराबर अर्थात १.२ प्रतिशत मिथायलमर्करी मिसाइएको थियो । अमेरिकामा १ पार्ट प्रति १० लाख भन्दा धेरै मर्करीयुक्त क्रिम कानुनी रुपमा निषेध गरिएको छ ।

यसबारेमा क्यालिफोर्निया पोइजन कन्ट्रोल सिस्टमका डाक्टर पल ब्लांक भन्छन्, “इन–अर्गानिक मर्करी मिसाइएका गोरो बनाउने क्रिमहरु सबैभन्दा बढी खतरनाक मानिन्छन् जसमा जानेरै त्यति धेरै विषाक्तको प्रयोग गरिएको हुन्छ । तर यो घटनामा चाहिँ बिरामीले अर्गानिक मर्करीयुक्त उत्पादन प्रयोग गरेको पाइएको छ जसलाई त्यो भन्दा धेरै बढी विषाक्त मानिन्छ । ”

उनका अनुसार मिथाइल मर्करीले हाम्रो स्नायु प्रणालीमा पुर्याउने क्षति त्यस प्रकारका मिसावट गरिएका उत्पादनको प्रयोग बन्द गरेपछि अझ बढी हुने गर्दछ ।

यसरी ती महिलाको पिशाबमार्फत शरीरबाट मर्करी ‘फ्लस आउट’ गर्न थेरापी गरिएपनि स्वास्थ्यमा सुधार आउन नसकेको बताइएको छ ।

डाक्टर ब्लांकले भनेका छन्, “अर्गानिक मर्करीले सेन्ट्रल नर्भस सिस्टममा एक महिना वा केही हप्तापछि मात्र प्रतिक्रिया दिने हुँदा मर्करी निकालिसकेपछि धेरै अवस्थामा बिरामीमा सुधार आउन कठिन हुन्छ ।”

सिडीसीले दिएको थप जानकारी अनुसार बिरामी अहिले बोल्न र खान नसक्ने अवस्थामा रहेकी छन् ।

पछिल्लो एक दशकमा क्यालिफोर्नियामा ६० भिन्दाभिन्दै मर्करी पोइजनिङका घटना फेला परेका छन् तर ती सबैमा धेरै कम विषाक्त मर्करीको प्रयोग भएको क्यालिफोर्नियाको स्वास्थ्य विभागको रिपोर्टमा उल्लेख छ ।

यसरी क्रिमहरुमा मिथायलमर्करी हुनु अत्यन्तै असाधारण कुरा हो जुन प्रायः‘सेलफिस’ मा हुन्छ ।

स्वास्थ्यविद्हरुका अनुसार त्यस किसिमका क्रिमका बट्टामा कुनै लेबल हुँदैनन् र कतिपयमा त २१ प्रतिशतसम्म मर्करी मिसाइएको पाइएको छ ।

यसमा विशेषगरी बालबालिकाहरु गम्भीर रुपमा प्रभावित हुने गरेको बताइएको छ ।

उनीहरु त्यस्ता क्रिम प्रयोग गर्नेहरुको सम्पर्कमा आउँदा मात्र पनि पोइजनिङको शिकार हुन्छन् ।

यस्तोमा विज्ञहरुले कुनैपनि किसिमको क्रिम प्रयोग गर्दा तिनको लेबल राम्ररी हेर्न, नामचलेका रिटेलरबाट मात्र खरिद गर्न र बाहिरबाट मगाएमा पहिले परीक्षण गरेर मात्र प्रयोग गर्न सुझाव दिएका छन् । सीएनएन