पार्टी फुटाउन नेकपाभित्रै चलखेल: विष्णु पौडेलले गरे खुलासा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पार्टी फुटाउन नेकपाभित्रै चलखेल: विष्णु पौडेलले गरे खुलासा



काठमाडौं- सत्तारुढ दलमा देखिएको तिक्तता अन्त्यका लागि विभिन्न पहलहरू भैरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भने सहमति खोज्न कार्यदल बनाइएको र पाँच बुँदे सहमति भनेर गरिएका प्रचार झुटा भएको बताएका छन् । पौडेलले एक अनलाईनसंग कुरा गर्दै त्यस्तो कुनै सहमति नभएको भन्दै यो एकता भाँड्ने खेल भएको खुलासा गरेका छन् ।

आइतबार बालुवाटारमा निर्णायक भनिएको वार्तापछि विभिन्न अनालईन र पत्रिकाहरूले बालुवाटार स्रोत र नेकपा स्रोत भन्दै पाँच बुँदे सहमति र सहमति खोज्ने कार्यदल गठन गरिएको भन्दै समाचार प्रकाशन गरेका थिए । तर, यस्तो खालको कुनै सहमति नभएको र कार्यदल पनि गठन नगरिएको पौडेलले जनाएका छन् । उनले यस्तो प्रचारबाजी एकता भाँड्ने प्रायोजित खेल भनेका छन् ।

पौडेलले बताए अनुसार यो झुटो हो भने विभिन्न अनलाईनले बताएका नेकपा स्रोत र बालुवाटार स्रोत कि त झुटा हुन्, कि त त्यहिंबाट एकता भाड्ने प्रयत्न भैरहेको बुझ्न गाह्रो छैन । यसअघि पनि नेकपाभित्र यस्ता प्रचार हुँदै आएका छन् । त्यसको पछिल्लो उदाहरण भनेको प्रधानमन्त्रीसंग पुराइएको राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारीको सूचना हो ।

त्यतिमात्र होइन नेकपाभित्र सुचना र खबरलाई कति म्यानुपुलेट गरिन्छ भन्ने अर्को उदाहरण पनि छ । शनिबार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने खेल भएकाले कित्ताकाट गर्नुपर्ने कुरा गरिरहँदा कृषिमन्त्री तथा पार्टीका स्थायी कमिटि सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीसमक्ष झुटा र भ्रम सृजना गर्ने सल्लाह र सुचना प्रबाह गर्ने गरिएको बताएका थिए ।

भुसालले प्रथम विश्वयुद्धको कहानी सुनाउँदै भनेका थिए प्रधानमन्त्री ज्यु तपाईंलाई दिने सल्लाह र सुचना तोडमोड भएका छन् र त्यसको प्रमाण म संग छ । आफ्नो स्वार्थ पुरा गर्न प्रधानमन्त्री ओली समक्ष केहि स्वार्थ समुहले झुटा सूचना सम्प्रेषण गरेको भुसालको अभिव्यक्तिले प्रष्ट हुन्छ ।

महासचिव बिष्णु पौडेलले पनि बाहिर यति बुँदे र उति बुँदे सहमति भयो भन्ने र कार्यदल बनाइएको प्रचारहरु भइरहेगरिरहेको त्यो पूर्णत गलत कुरा भएको बताएका छन् । महासचिव पौडेलले जसले यस्तो प्रचार गरिरहेको छ । यो हुन लागेको सहमति पनि भाँड्ने षड्यन्त्रअनुरुप गरिएको प्रचार भएको पनि बताएका छन् ।

यस्ता सुचना र समाचारले सहमति झन् भाँड्ने बताउँदै पौडेलले नयाँ सहमति भएपछि वक्तव्य जारी हुने भन्दै कसले किन यसरी प्रचार गरिरहेको छ भन्ने खोजीको विषय भएको र छिटै पहिचान हुने भन्दै त्यो जसले गरेपनि नेकपामा हुन लागेको सहमति भाँड्ने षड्यन्त्रस्वरुप प्रचारमा ल्याइएको जानकारी दिए ।

पौडेल शुक्रबार र आइतबार दुई अध्यक्षबीचको वार्तामा सहभागी हुदै आएका छन् । दुई अध्यक्षको वार्तामा ओली पक्षबाट पौडेलबाहेक अर्का नेता शंकर पोखरेल तथा प्रचण्डपक्षबाट नेता जनार्दन शर्मा र बर्षमान पुन सहयोगीका रुपमा वार्तामा सहभागी हुदै आएका छन् ।