पहिलो दिन नै कर्मचारीमाथि पौडेलका तीन 'थ्रेट', अर्थसचिवको जागिर धरापमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पहिलो दिन नै कर्मचारीमाथि पौडेलका तीन ‘थ्रेट’, अर्थसचिवको जागिर धरापमा



बिग्रिएको अर्थतन्त्र सम्हाल्न घुमीघुमी अर्थमन्त्रालय पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार मन्त्रालयमा कार्यभार सम्हाले । उनी अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजारमा जस्तै मन्त्रालयमा पनि खुसियाली थियो ।

कार्यभार सम्हाल्दै पौडेलले सरकारी कागजात तथा रेकर्ड अनलाइन प्रणालीमा लैजाने र अनलाइन प्रणालीमा नै काम गर्ने निर्णय गरे। यो आफैमा नयाँ संकेत हो । ‘अर्थतन्त्र संकटको डिलमा छ, यो निकै कठिन अवस्थामा मन्त्रालय सम्हाल्न आएको छु।’  उनले कार्यभार सम्हाल्दै भनेका थिए ।

यता कार्यकक्षमा रहेका पौडेल कतिबेला आउलान भन्दै हलमा कर्मचारी कुरिरहेका थिए । त्यसपछि मन्त्रालयको सुवर्णशमशेर हलमा पौडेल पुगे। कर्मचारीले स्वागत गरे, पौडेल र सचिवले सम्वोधन गरेका थिए ।

रोचक त के थियो भने अर्थ मन्त्रालयको काम गोप्य नगर्न अर्थमन्त्रीले भन्दैगर्दा कर्मचारीहरू भने खुसी थिए । पौडेलले सचिवले मन्त्रीकहाँ लैजाने फाइल टुँडिखेलमै राखेर पनि काम गर्न सक्नुपर्ने खालको हुनुपर्ने बताए ।

पौडेलले कर्मचारीलाई नडराई काम गर्न आग्रह गर्दै डराउनुपर्ने कुनै कारण नभएको, पारदर्शी रूपमा काम गर्नुपर्ने बताए । उनले गर्न नसक्ने कामहरूको कारणसहित जवाफ दिने अधिकार भएका कारण नसक्ने काम नगर्ने अधिकार कर्मचारीलाई भएको बताए ।

पौडेलले उठाएका तीन कुरा खास थिए । खासमा सुन्दा साधारण भएपनि कर्मचारीका लागि यी झस्काउने बिषय थिए । पहिलो उनले यो सरकार अस्थिर सरकार नभएको, स्थिर सरकार भएको भन्दै कर्मचारीलाई दाँयाबाँया नगर्न आग्रह गरे । उनले भने, ‘अहिलेको सरकार स्थिर सरकार हो। सोहीअनुसार ढुक्क हुन आग्रह छ।’

दोस्रो उनले आफू योभन्दा अघि दुईपटक अर्थमन्त्री भैसकेको, सबै कुरा थाहा भएको र सफल भएर निस्किएको सम्झाए । सँगै उनले थपे ‘यो कार्यकाल पनि सफल हुने हो, यसमा सहयोग सबैको हुनुपर्छ ।‘ उनले पहिलेभन्दा कार्यशैली परिवर्तन गर्ने समेत बताए।

तेस्रो अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्करलाई नराख्ने संकेत पौडेलले गरेका छन् । उनले अर्थमा अर्थकै सचिव हुनुपर्ने स्पष्ट पारेका छन् ।

सचिव कृष्णहरी पुस्करले स्वागत गर्दै पौडेललाई तारिफ गरिरहेका थिए भने  पौडेलले क्याडर र परिभाषित जिम्मेवारीको विषय उठान गरेका थिए । पुस्करले उच्च व्यक्तित्व भएको व्यक्ति अर्थमन्त्रीको रुपमा पाउनु देशकै लागि राम्रो भएको बताएका थिए।

तर पौडेल भने उनका कुरामा भुलेनन् । उनले भने, ‘योभन्दा पहिले धेरै नै लिबरल थिएँ, अब भने परिभाषित जिम्मेवारीलाई हेर्छु। परिभाषित जिम्मेवारी पूरा गर्नुपर्नेछ। त्योभन्दा बाहिर गएर काम गर्नुपर्दैन तर जिम्मेवारी भने पूरा गर्नुपर्नेछ।’

अर्थ मन्त्रालयमा अर्थ‘क्याडर’को उपस्थिति नभएको गुनासो मातहतका निकायहरुका कर्मचारीहरुले गरिरहेका छन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थबाहिरका कर्मचारी ल्याएको आरोप मातहतका निकायका कर्मचारीहरुले गुनासो गर्दै आएका छन्।

अर्थसचिव पुस्कर आफैँ अर्थ मन्त्रालयका क्याडर होइनन्। अर्थमन्त्री पौडेलले परिभाषित जिम्मेवारी निभाउन सक्ने कर्मचारीको खोजी गर्ने संकेत सोमबारै देखाएका हुन् ।