प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र भुईचालो ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र भुईचालो !



काठमाडौं,। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धमा दरार सुरु भएको छ । नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न नपाउँदै अध्यक्षद्धयवीचको सम्बन्धमा भने उतारचढाव सुरु भएको छ ।

ओली र प्रचण्डबीचको सम्बन्ध चिसिनुको प्रमुख कारण हो-भेनेजुयला प्रकरणमा निकालिएको वक्तव्य । प्रधानमन्त्री ओली देश बाहिर रहेको अवस्थामा प्रचण्डले भेनेजुयलामा जारी राजनीतिक संकटबारे अमेरिकी हस्तक्षेप अस्विकार्य भन्दै कडा निन्दा गरेका थिए ।

प्रचण्डको वक्तव्यबाट अमेरिकाभन्दा पहिले ओली नै बिच्किए । उनी देश बाहिर रहेको अवस्थामा प्रचण्डले पार्टीका शीर्ष नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको परामर्शमा नै वक्तव्य जारी गरेको स्रोतको दाबी छ । यसले पनि के अनुमान लगाउन सकिन्छ भने ओलीविरुद्ध मोर्चाबन्दी कस्न प्रचण्डलाई यो वक्तव्य नै अस्त्र बन्यो । भित्री रुपमा ओलीसँग असन्तुष्ट नेताहरु झलनाथ खनाल र वामदेव गौतमपनि प्रचण्डकै पक्षमा उभिए । पार्टीको सचिवालय बैठकमा समेत प्रचण्डको वक्तव्यलाई नै सही भनियो । र, यो उक्त अडान कायमै रहेको कुरा मिडियामा प्रवक्ता नारायणकाजी श्रेष्ठले सुनाए ।

तर, नेकपाको यस्तो अडान लिने निर्णय भएको दुई दिन बित्न नपाउँदै प्रधानमन्त्री ओलीले फेरी यो विषयलाई कोट्याए त्यो पनि नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लु.बेरीसँगको भेटपछि । अमेरिकी सरकारको दबाब ओलीमाथि परेको हुन सक्छ । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीलाई पनि अमेरिकाले स्पष्टीकरण सोधेका खबरहरु बाहिर आएका थिए । यता, नेपाल सरकारले आयोजना गरेको कुटनीतिक ब्रिफ अ‍ेमेरिकी राजदुत बेरीले बहिष्कार गरे । प्रधानमन्त्रीले आँफै राजदुत बेरीसँग भेट्न चाहे । र, बालुवाटारमा भेटवार्ता पनि भयो । उक्त भेटवार्तामा ओलीले प्रचण्डको वक्तव्यमा ‘स्लिप’ भएकै हो भन्ने आशयको अभिव्यक्ति दिएको कुरा बाहिर आयो । त्यसपछि यो ईस्युले फेरी नेकपाभित्र ओली र प्रचण्डबीचको सम्बन्धमा दरार पैदा भयो ।

एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीले आफू त्यतिवेला नेपालमा भएको भए यस्तो खालको वक्तव्य आउने थिएन भनेर प्रचण्डको वक्तव्यवाजीको निन्दा गरे । उनले सार्वजनिक रुपमै प्रचण्डको उक्त कदमबारे आपत्ति जनाए । ओलीको यस्तो अभिव्यक्ति आएपछि प्रचण्ड बिच्किए ।

उनले हिजो चितवनको भरतपुर विमास्थलमै आफू भेनेजुयला प्रकरणमा पुर्ववर्ती अडानमै कटिवद्ध रहेको र पार्टी र परराष्ट मन्त्रालयले पनि स्पष्टसँग आफ्नै लाईनमा वक्तव्य जारी गरिसकेको भन्दै अब व्यक्तिले भनेर कुनै अर्थ नराख्ने अभिव्यक्ति दिए । उनले ओलीले असन्तुष्टि जनाएर केही नहुने भन्दै चूनौति नै दिए ।

त्यसको भोलिपल्ट आज प्रचण्डले झनै आक्रामक अभिव्यक्ति दिए । माओवादीलाई सिध्याईयो भनेर सोचे गम्भिर भुल हुने भन्दै त्यस्तो नसोच्न चेतावनी दिए । उनले शान्ति सम्झौता र संविधानको मर्म, भावनाअनुसार ऐन बनाएर कार्यान्वयन नगरे अर्को माओबादी जन्मने चेतावनी दिएका छन्। माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्णु हुने बताएका प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।

प्रचण्ड भने, ‘माओबादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओबादी जन्मिन्छ, झन् ठूलो लँडाइ हुने खतरा आउँछ।’ फेरि माओबादी जन्मिए हिजोजस्तो गिरिजाप्रसाद कोइराला र आफूले सजिलैसँग १२ बुँदे समझदारी, शान्ति सम्झौतामा हस्ताक्षर र देशलाई युगान्तकारी परिवर्तनमा लाने काम नहुन पनि सक्ने उनले बताए।

प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र ठूलो पराकम्पन ल्याएको छ । तर, प्रचण्डले सबै कदम सोचेर नै चालेको पनि नेकपानिकट उच्च स्रोतको दाबी छ ।