प्रभु शाहलाई एमाले र माओवादीको 'ढोका बन्द' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रभु शाहलाई एमाले र माओवादीको ‘ढोका बन्द’



काठमाडौं– पहिले माओवादी केन्द्रका प्रभावशाली नेता मानिने प्रभु शाह नेकपा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाए । माओवादी छाडेर एमालेमा गएपछि मन्त्री खाना गएको आरोप पनि खेपे । केहि अभिव्यक्ति र क्रियाकलापले विवादमा पनि तानिए । एमालेमा गएपछि अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र बनेका शाहले एमाले छोड्ने भएका छन् ।

एमालेको केन्द्रीय सदस्य बनेका प्रभु साह पहिले माओवादीमा हुँदा डा. बाबुराम भट्टराई निकट थिए पछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट थिए । तत्कालिन नेकपामा हुँदा अन्तिम समयमा ओली निकट बनेका शाहले ओलीको पनि साथ् छाड्ने भएका छन् । कुनै पनि समूहमा लामो समय नटिक्ने शाहले अब आफ्नै पार्टी बनाउने भएका छन् । एमाले अध्यक्ष ओलीसंग पछिल्लो समय कुरा मिल्न छाडेपछि शाहले एमाले छोड्ने तयारी गरेको बताइएको छ ।

एमालेमा रहँदा अध्यक्ष ओलीसंग ठाकठुक हुन थालेपछि माओवादीमै फर्किने योजना बनाएका शाहले माओवादीका अध्यक्ष प्रचण्डलाई सुचना पठाएको तर प्रचण्डले चासो नदिएर प्रभु शाह लगायतलाई माओवादीको ढोका बन्द भन्ने खबर पठाएको चर्चा समेत चलेको थियो । त्यसपछि कहिले प्रचण्ड मुक्त देश बनाउने भन्दै अभियान चलाए त कहिले आइटी आर्मी भन्ने दस्ता तयार गरे । आइटी आर्मी गरेका गरेका शाहले अहिले एमालेमा पनि रहन नसक्ने भन्दै छुट्टै दलको तयारी गरेको एक नेताले बताए ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भएपछि एमालेमा रहेर ओलीलाई साथ दिएका साहले पछिल्ला दिनमा ओलीलाई भेटेर एमालेकै संरचना भन्दा आफूहरू नेकपाको संरचनामा रहन चाहेको बताएका थिए । उनले वर्तमान एमाले संरचनामा बस्न नसकिने निर्णयमा पुगेको बताइएको छ । उनले नेकपाको विचार र सिद्धान्तमा हिँड्नका लागि ओलीलाई साथ दिएको तर ओलीले आफ्नो कुराको वास्ता गर्न छाडेको गुनासो निकट कार्यकर्तालाई सुनाउन थालेका छन् ।

एमालेलाई पुरानै संरचनामा लैजान खोजेपछि ओलीलाई नै भेटेर शाहले यसबारे बताउन खोजेका थिए । उनैल एमालेकै विचार र सिद्धान्तको निरन्तरता हुने भएमा आफू पार्टीमा नरहने निर्णय सुनाउन ओलीसँग समय माग्दा ओलीले अहिले समय समेत नदिएको बताएका थिए । ओलीले उनको प्रस्ताव थाहा पाएर अहिले सकारात्मक  व्यवहार समेत गर्न छाडेको कार्यकर्ताहरूलाई बताउने गरेका छन्

धेरैपटक समय माग्दा पनि वास्ता गर्न छाडेपछि शाहले एमालेमा रहन नसक्ने निष्कर्ष निकालेका थिए । त्यसपछि उनले माओवादी केन्द्रमै फर्कने सोच पनि बनाएको तर प्रचण्डले पनि त्यस्तै व्यवहार देखाएको केहि नेताहरूको दाबी छ । एक नेताका अनुसार माओवादीमा फर्कने योजना बनाएका शाहलाई प्रचण्डले समेत भेट नदिएको बताए ।

हाल एमालेमै रहेर काम गरेका शाहले एमालेका पछिल्ला बैठक र कार्यक्रमहरूमा भाग लिन समेत छाडेका छन् । गत साउन ५ गते आईटी आर्मी नामको एउटा संगठन बनाएर उनले अहिले संगठन विस्तारको काम गरिरहेका छन् ।  उनले अहिले तराईका जिल्लाहरूमा उक्त संगठन विस्तारलै तिब्रता दिएका छन् । त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ ।

उक्त संगठनले अहिले तराईका विभिन्न जिल्लाहरूमा आन्दोलनका कार्यक्रम समेत घोषणा समेत गरेको छ । अहिले आइटी आर्मीका नाममा तराईका जिल्लाहरूमा एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन हुन थालेका छन्। तर खासा त के छ भने आइटी आर्मीको घोषणा सभामा एमालेकै कतिपय नेताहरूलाई उनले बोलाएर भाषण गर्न लगाएका थिए ।

अहिले आइटी आर्मीका कतिपय नेताहरूले आफूहरू एमाले नभएको बताउन थालेका छन्। उनीहरूले आफूहरू एमाले नभएर नेकपा भएको बताएका छन्। यदि नेकपाको विचार र सिद्धान्तमा नहुने हो भने एमालेमा बस्न नसकिने उनीहरूले सार्वजनिक रूपमै बताउने गरेका छन् । अहिले छुट्टै दल खोल्नका लागि शाहले तयारी गरिरहेको एमालेकै एक नेताले बताएका छन् । ति नेताका अनुसार शाहले भित्रभित्रै पार्टी घोषणाको योजना बनाएको र केहि कम्युनिस्ट पार्टीहरूसँग छलफल समेत गरिरहेका छन् ।

पछिल्ला केहि साता साह प्रदेश २ का जिल्लामा आइटी आर्मीको संगठन विस्तारमा केन्द्रित भएका छन्। उनले प्रदेश २ मा माओवादीलाई टार्गेट गरिरहेका छन् । उनी संगठन निर्माणमा आक्रामक रूपमा लागेका छन् । उनले तत्काल पार्टी घोषणाको तयारी समेत गरेको बुझिएको छ ।

प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा कट्टर विरोध गरेका शाह सर्वोच्चले पार्टी पूर्ववत अवस्थामा फर्काएपछि ओलीनिकट बनेका थिए ।  ओलीले प्रतिनिधि सभा विघटन गर्दा सामाजिक सञ्जालमै उनले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको र जनताको प्रतिनिधि थलो विघटन गर्नु जनताको अपमान भएको उल्लेख गरेका थिए।

पछि एकाएक प्रचण्डले नेकपा अध्यक्षको हैसियतमा अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गराए । तत्कालीन नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेका बेला नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहले प्रचण्ड क्याम्प परिवर्तन गरेका थिए ।

तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका साहले बैठक कक्षमा उठेरै नेपाललाई अध्यक्ष बनाउन नहुने बताएका थिए। तर, उनको विरोधको सुनुवाई भएन। त्यही आक्रोशमा उनी पुस ९ गतेको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए। भोलिपल्टै (पुस १० गते) उनी एकैपल्ट सहरी विकास मन्त्रीका रुपमा सपथ लिन शीतलनिवास पुगे र ओली क्याबिनेटमा सामेल भए।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाका दुई घटक एमाले र माओवादीलाई ब्यूँताइदिएपछि अवस्था साहले सोचेभन्दा भिन्नै हुनथाल्यो।

उनी त्यसपछि एमालेका जम्मा दुईटा केन्द्रीय कमिटी बैठकमा मात्र सहभागी भए। बैठकका निर्णयमा पनि हस्ताक्षर गर्न मानेनन्। आफू नेकपाको निरन्तरता भनेर मात्र ओलीपक्षमा गएको, तर एमाले हुन नसक्ने बताउन थाले। यसबीचमा उनले माओवादीमा फर्कने प्रयत्न पनि गरे, त्यसका लागि नेताहरुलाई भेटे। तर, प्रचण्डबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी न एमालेमा रहन सक्ने न माओवादीमा फर्कने स्थितिमा पुगे ।