प्रचण्डले गर्ने खर्चको स्रोत भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डले गर्ने खर्चको स्रोत भेटियो



काठमाडौं- राजनीतिमा पछिल्लो समय निकै भयानक घटनाहरू घटिरहेका छन् । यस्ता घटना सार्वजनिक हुँदा सर्वसाधारणको होस् चेत उड्ने गरेको छ ।

देश बनाउनको लागि भनेर भोट हालेर पठाएका नेताहरूका एकपछि अर्को गर्दै राज खुल्दै जाँदा राजनीति र नेताहरूप्रति नै वितिष्णा हुने अवस्था आइसकेको छ ।

यस्तै पछिल्लो समय विकिलिक्सले सार्वजनिक गरेका कतिपय डाटाहरू पनि होस् उड्ने खालका छन्। विकिलिक्सले सार्वजनिक गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासको एक डिप्लोमेटिक केबलअनुसार कैयौं नेताहरूको पोल खोलिएको छ ।

भदो महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च राज्यकोषबाट नलिएको बताए तर, कहाँबाट खर्च भयो त भन्ने कुराले जनतालाई सतायो । नभन्दै त्यो खर्च यती समूह र एनसेलले बेहोरेको भेटियो ।

ओलीले राज्यकोषको पैसा खर्च नगरेको बताएपछी सिंगापुरजस्तो महँगो देशको महँगो अस्पतालमा निःशुल्क कसरी भयो भन्ने कौतुहलताले सताएको थियो । खर्च कसले बेहोर्‍यो भन्ने चर्चा बढ्दै त्यसको स्रोत भेटिएको केहि समयमै अर्का अध्यक्ष प्रचण्डको पनि भेद खुलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गर्ने गरेको तथ्य फेलापरेको छ । विकिलिक्सले सार्वजनिक गरेको खुलासा अनुसार नेकपा अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएका थिए ।

हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ ।

मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।