कम्युनिजम आएको छैन, कांग्रेसलाई नआत्तिन आग्रह गर्छु : प्रचण्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कम्युनिजम आएको छैन, कांग्रेसलाई नआत्तिन आग्रह गर्छु : प्रचण्ड



१० कात्तिक, पोखरा ।

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनावपछि मुलुकले बहुमतको सरकार पाउने उद्घोष गरेका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बाम गठबन्धन वा कांग्रेस नेतृत्वको गठबन्धन मध्ये कुनै एकले बहुमतको सरकार बनाउने बताए । उनले भने, ‘चाहे बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट होस्, चाहे नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट होस्, अबको निर्वाचनमा देशले बहुमतको सरकार पाउँछ ।’

जब देशले बहुमतको सरकार पाउँछ, ५ वर्षमा स्थिरता आउने र तीव्र आर्थिक विकासले गति लिने भएकोले पनि निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।

केही तत्वले निर्वाचन सार्ने भरमग्दुर प्रयास गरेको भए पनि मंसिर १० र २१ गते चुनाव भएरै छाड्ने उनले बताए । उनले भने, ‘अहिलेसम्मको परिस्थिति हेर्दा चुनाव नहुने कुनै कारण नै छैन ।’

प्रचण्डले पार्टीहरुले र खास गरी नेताहरुले खास समयमा साहसको साथ निर्णय नगर्ने हो भने परिवर्तन संस्थागत पनि नहुने र लोकतन्त्रले गति पनि लिन नसक्ने बताए ।

पहिलो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनताकाको समय स्मरण गर्दै उनले भने, ‘संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेसले हार्छ भन्ने जान्दाजान्दै गिरिजाबाबुले चुनाव गराउनुभयो, स्थानीय निर्वाचनमा मेरो पार्टीले हारोस कि जितोस तर देशले जित्छ भनेर हरहालतमा मैले चुनाव गराएको हुँ, अब पनि पार्टीले हार्ने/जित्ने भन्दा पनि देश र जनताले जित्ने भएकाले चुनाव तोकिएकै मितिमा गराउनुपर्ने राष्ट्रिय आवश्यक्ता हो, यो सरकार र प्रधानमन्त्रीले बोध गर्नुपर्छ ।’

उनले स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा संविधान कार्यान्वयन र लोकतन्त्र स्थापित गराउन भूमिका खेलेकाले आगामी चुनाव नेपाली कांग्रेसले जिते पनि, एमालेले जिते पनि आफैंले जितेजस्तो महशुस हुने बताए ।

प्रचण्डले बाम गठबन्धन बन्दैमा नआत्तिन कांग्रेसलाई आग्रह गरे । बाम गठबन्धनपछि देश तरंगित भएको भन्दै उनले भने, ‘अहिले नै कम्युनिजम आयो, साम्यवाद आयो र कम्युनिष्ट एकाधिकारवादी अधिनायकवाद आइहाल्यो झैं गरेर देश तरगिंत भएको छ, तर म कांग्रेसलाई त्यसरी नआत्तिन आग्रह गर्छु’, उनले भने ।