'ब्रेकथ्रु' गर्नसक्ने प्रचण्डको संकेत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘ब्रेकथ्रु’ गर्नसक्ने प्रचण्डको संकेत



काठमाडौँ- नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवासमै आफू निकट नेताहरूलाई बोलाएर परामर्श गरेपछि नेकपाकै केहि नेताहरू ससंकित बनेका छन् ।

पार्टी विवादमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालयका धेरै नेताको एउटै मत देखिएका बेला प्रचण्डले भने पूर्व माओवादी समूहका मात्रै नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सोमबार बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले आकस्मिक रूपमा कुनै निर्णय गर्नसक्ने आंकलन गर्छन । ति नेताका अनुसार प्रचण्डले आफू निकटका नेताहरूसंगको परामर्शमा अब आश्चर्यजनक र आकस्मिक रूपमा कुनै निर्णय हुनसक्ने छनक दिएका छन् । एकातिर माधव नेपाल समुहका कसैलाई नबोलाउनु, अर्कातिर प्रधानमन्त्री ओलीसंग सहमति भैसकेको हल्ला चल्नु जस्ता कुराहरूले पनि यसको संकेत गर्छ ।

पूर्व माओवादी समूहका केही नेताहरु भेलामार्फत प्रचण्डले पार्टीभित्र र संघर्ष समूहभित्र आफूहरूको छुट्टै अभियान छ भन्ने संदेश दिएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबाट बैचारिक रूपमा जबजलाई आत्मसाथ गर्नैपर्ने दवाव आइरहेको र माधव नेपाल समूह पनि जबजबाट पछि नहट्ने भएपछि पहिचान देखाउन पनि उनले भेला बोलेको केहीको निष्कर्ष छ ।

लामो समयदेखिविवाद समाधानकै लागि सुरू गरिएको स्थायी कमिटी बैठक अनिर्णयको बन्दी बनेको छ । पार्टीका समस्या ज्यूँका त्यूँ छन् । यसलाई अझै लम्ब्याउँदा पार्टी थप जटिलतामा फँस्ने र आमजनमानसमा नेताहरुबीच पद र वर्चश्वका लागि शक्ति संघर्ष भएको सन्देश प्रवाह हुने डर प्रचण्डमा देखिएको उनीनिकट नेताहरु बताउँछन् ।

अध्यक्ष प्रचण्डले भेलामार्फत् वरिष्ठ नेता नेपाल समूहलाई समेत आधारभूत रुपमा विश्वासमा लिएर अर्का अध्यक्ष केपी ओलीसँग सम्झौता गरेर अहिलेको विवाद टुंगाउने सन्देश दिएका छन् । सहभागी एक नेताका अनुसार दाहाललाई उनीनिकटका नेताले सुझाव पनि त्यस्तै दिएका छन् ।

वरिष्ठ नेता नेपाललाई विश्वासमा लिने र पार्टी विभाजन नहुने गरी ओलीसँग सम्झौता गर्न दाहाललाई सुझाव दिइएको छ । यस्तोमा दाहालले आफू एक कदम पछाडि हटेर भए पनि नेकपाको विवाद टुंग्याउने मनस्थितिमा पुगेको भेलामार्फत् सन्देश दिएको ती नेता बताउँछन् । उनी भन्छन्, ‘दाहालले कुनै आकस्मिक निर्णय लिए भने आश्चर्य नमाने हुन्छ ।’

आइतबार वरिष्ठ नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुसमेत राखेर छलफल गरेका दाहालले सोमबार पूर्व माओवादी समूहका नेतासँग मात्र छलफल गरे । भेलामा सहभागी स्थायी कमिटीका अर्का एक नेता भन्छन्, ‘भेलामार्फत् प्रचण्डले पूर्व माओवादी एक छौँ भन्ने सन्देश पनि प्रवाह गरेका छन् ।’

उनका अनुसार यस्तो सन्देश ओली र नेपाल दुवै समूहका लागि हो । स्थायी कमिटीमा मूलत: ओली, दाहाल र नेपाल पक्षीय शक्ति छ । यसमा दाहालको समूह सबैभन्दा बलियो मानिन्छ । दाहालले ओलीसँग सम्झौता गर्ने र त्यसमा उनी निकट स्थायी कमिटीका सबै सदस्यको समर्थन रहे अगाडि बढ्न सहज हुने दाहालको बुझाइ छ ।

खुमलटारमा पूर्व माओवादी समूहका नेताहरु भेला गरेर दाहालले एकताको मर्म विपरीत अहिले नै जनताको बहुदलीय जनवादलाई स्वीकार गर्न नसक्ने अर्को सन्देश दिएका छन् । ओलीले जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरे मंसीरमा महाधिवेशन गरेर पार्टीमा एकल नेतृत्व लिन प्रस्ताव गरेका थिए ।

दाहालले बोलाएको भेलामा सबैजसो नेताले पार्टी एकता, विधान र राजनीतिक प्रतिवेदनको मर्मविपरीत अहिल्यै जनताको बहुदलीय जनवाद स्वीकार्य नहुने बताएका छन् । अर्थात् भेलामार्फत् दाहालले तत्कालका लागि जनताको बहुदलीय जनवाद अस्वीकार्य रहेको सन्देश प्रवाह गरेको भेलामा सहभागी ती नेताले बताए ।

हाल नेकपाले पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र न्यूनतम कार्यक्रम समाजवाद उन्मूख जनताको जनवाद मानेको छ । पार्टी विधानमामा जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुग्ने उल्लेख छ ।

जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा (एमाले) र माओवाद एवम् २१ औँ शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीच एकता भएको थियो । महाधिवेशनबाट टुंगाउनुपर्ने विषय ओलीले शक्ति बाँडफाँडका क्रममा अहिले नै अगाडि सारेपछि प्रचण्डले असम्भव रहेको सन्देश दिएका छन् ।

नेकपाले पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालीन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट पार्ने निर्णयसमेत गरेको छ ।

भेलामा दाहालसहित १४ स्थायी कमिटी सदस्य उपस्थित थिए । सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र लेखराज भट्ट सहभागी थिएनन् । थापा र शर्मा अध्यक्ष प्रचण्डलाई जानकारी गराएर नै उपस्थित नभएको बताइएको छ ।