प्रचण्ड भन्छन: नेता–कार्यकर्ता अनुशासनहिन हुँदै गए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड भन्छन: नेता–कार्यकर्ता अनुशासनहिन हुँदै गए



चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँ–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त गरेका छन् ।

नेकपा चितवनले बिहीबार भरतपुरमा विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनमा कहीँ–कतैबाट खतरा नभइ हामी आफैंबाट खतरा हुनसक्ने बताए ।

७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उनले भने–‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन, सजिलै सोभियत संघजस्तै खतरा हुन्छ ।’

पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले थपे–‘कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन । तर, हामी आफैंले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौं ।’

‘प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरबाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौं ?’ उनले प्रश्न गरे ।

दाहालले कहिले–काहीँ क्रान्तिको केन्द्र ठीक ढंगले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताए ।

प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उनले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे ।

शुभकामना आदान–प्रदान गर्दै गर्दा कमी–कमजोरीका विषयलाई गहिरो गरी विचार गर्‍यौं भनेमात्र शुभकामना सार्थक हुने उनले बताए ।

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिस्ट नेता–कार्यकर्ताको अनुशासनकाबारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताए ।

उनले भने–‘उनीहरुका विरुद्ध संघर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।’

सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढंगले अभियान सन्चालन गरेको भन्दै उनले नेपाललाई नयाँ उचाइमा पुर्‍याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताए ।

सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको ‘च्याम्पियन’ कम्युनिस्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताए ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नम्बर–३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश नम्बर–३ का अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।