प्रचण्डद्वारा आफ्नै नेताहरूले ल्याएको प्रस्ताव अस्विकार - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रचण्डद्वारा आफ्नै नेताहरूले ल्याएको प्रस्ताव अस्विकार



काठमाडौँ- स्थानीय निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप घेराबन्दी हुने भन्दै निर्वाचन क्षेत्र परिवर्तन गर्न पार्टीका नेताहरूले आग्रह गरेका छन् ।

अबको प्रधानमन्त्रीको रूपमा तयारी गरेका नेता प्रचण्ड यु निर्वाचनमा हार्नु नहुने माओवादी नेताहरूको निष्कर्षसहित निर्वाचन लड्न सहज क्षेत्र रोज्न आग्रह गरेका थिए । नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न प्रचण्डलाई आग्रह गरेको समेत बताइएको छ ।

उनको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा जस्तै गठबन्धनकै नेतृत्व गरेको दलका स्थानीय नेताहरूले असहयोग गर्ने आंकलन गरेर उनलाई अन्य क्षेत्रबाट चुनाव लड्न आग्रह गरिएको बुझिएको छ ।

पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् । पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् । तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।

नेताहरूले गरेको प्रस्ताव भने प्रचण्डले ठाडै अस्विकार गरेको बुझिएको छ । माओवादीकै एक नेताका अनुसार प्रचण्ड चितवनबाट निर्वाचन जित्नेमा ढुक्क भएकाले निर्वाचन क्षेत्र परिवर्तन गर्न मानेनन् ।

आफूलाई आग्रह गर्ने नेताहरूसँग उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । नेताहरूलाई पहिलेको भन्दा चितवनको माहोल फेरिएको, र चितवनका जनतालाई ढोका हुने भएकाले उनले क्षेत्र परिवर्तन नगर्ने बताएका थिए ।