४४ औँ प्रधानमन्त्री प्रचण्डलाई बधाई - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

४४ औँ प्रधानमन्त्री प्रचण्डलाई बधाई



 –टेकराज पन्थी

प्रतिनिधि सभाको निर्वाचनमा बिजयी भै प्रतिनिधि सभाका सदस्य माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरूको समर्थनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम उहालाई बहुमतको प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् ।  नेपाली कांग्रेस माओवादी सहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सहभागी भएका थिए । चुनाव लगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर  देउवाले भद्र सहमति उल्लंघन गरेपछि प्रचण्ड एमाले सहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुन सफल भएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिने अडानमा यथावत राखे । राष्ट्रपति कांग्रेसकै भए पनि प्रधानमन्त्रीको पहिलो कार्य आफूले पाउनुपर्ने प्रचण्डले पूर्ववत भद्र सहमति भएको सम्झाए । आइतबारको छलफलमा शेरबहादुर देउवाले पुरानै अडान दोहोर्‍याएपछि प्रचण्डले गठबन्धन टुटेको भन्दै खुमलटार लागेका थिए । बालुवाटारबाट खुमलटारमा केही बेर विश्राम लिएका प्रचण्ड सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट प्रस्थान गरे ।  प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरू लाइन लागेर बालकोट पुगेका हुन् । बालकोटमा एमाले अध्यक्ष ओली सहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए ।

यस्तै ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भएका थिए । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पुर्‍याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीमा दावी पेश गरेसँगै प्रचण्ड प्रधानमन्त्रीमा आजै नियुक्त हुनु भएको छ । उहाँले भोलि वि.सं. २०७९ साल पुष ११ गते सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ । यसरी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना छ ।

प्रचण्डको जीवनी अध्ययन गर्दा उहाको जन्म  २०११ मंसिर २६ गते कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस–२ लेवाडे भन्नेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका थिए । वि.सं. २०२६ चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षा काठमाडौँको पाटन बहुमुखी क्याम्पसबाट आईएससी पुरा गरेपछि चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी पुरा गरे । प्रचण्डले एम.पी.ए.सम्मको अध्ययन पुरा गरेका छन् । प्रचण्डले नारायणी विद्या मन्दिर, मा.वि.नवलपरासी, भीमोदय मा.वि आरुघाट अध्यापन गराएका थिए । वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट  चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सरेका थिए ।  २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी र एक छोराको जन्म भएकोमा छोरा प्रकाश हाल पृथ्वीमा रहेनन् ।

पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि  गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए ।  २०७४ सालको चुनावमा चितवन ३ बाट र २०७९ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित हुनु भएको हो । 

उहाँको राजनीतिक यात्रा वि.सं. २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता लिएका थिए । विभिन्न चरणमा उतार चढाव अघि बढेका प्रचण्ड २०४८ सालमा विभिन्न कम्युनिस्ट घटकहरुवीच एकता गरेर नेकपा (एकताकेन्द्र)को महामन्त्री हुन सफल भए । वि.सं.२०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम फेरेर नेकपा माओवादी बनाइयो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड माओवादी अध्यक्ष हुन सफल भए । २०५८ साल जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड नेपालको तेस्रोपटक प्रधानमन्त्री हुन सफल हुनु भएको छ । 

नेपालको तेस्रो पटक मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुन सफल प्रचण्डसँग गरेको सहमति नमान्दा र आफ्नो हठ नछोड्दा नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएको छ । केन्द्रदेखि सातै प्रदेशमा अब नेपाली कांग्रेसको सरकार बनाउने लक्षण कमजोर भएको महसुस गरेका छन् ।

अन्त्यमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको तेस्रो पटक मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना छ । देशमा विद्यमान कमजोर आर्थिक अवस्थाको सुधार भै सकारात्मक विकासमा मुलुक अगाडि बढाउन सवैबाट सकारात्मक सहयोग हुनेछ भन्ने विश्वास लिन सकिन्छ। बालहठ र जिद्दी समाजका हरेक क्षेत्रमा असर गर्दछ भन्ने विषयलाई सम्झेर समाजको सकारात्मक आर्थिक सामाजिक रुपान्तरण गर्न ४४ औं प्रधानमन्त्रीलाई सफलता मिलोस भन्ने कामना पनि गर्दछु।