प्रचण्डले भने: पार्टी फुट्नबाट जोगाइयो, अब ढुक्कले अगाडी बढ्ने हो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले भने: पार्टी फुट्नबाट जोगाइयो, अब ढुक्कले अगाडी बढ्ने हो



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । शुक्रबार अन्त्य भएको स्थायी कमिटि बैठकलाई अध्यक्षता गर्दै प्रचण्डले अब बहस र छलफलको प्रक्रियालाई अघि बढाएर महाधिवेशनमा केन्द्रित हुनुपर्ने समेत बताए ।

१० असारदेखि सुरू भएको पार्टीको स्थायी कमिटी बैठकको आज समापन गर्दै उनले भने, ‘लामो समयदेखि पार्टीभित्र देखिएका सबै असहमति हल भएका छन्, अब ढुक्क भएर पार्टी निर्माण गर्दै महाधिवेशनमा जाऊँ, तपाईंहरुका केही माग छन् भने कात्तिकमा बस्ने केन्द्रीय समिति बैठकमा राख्नुहोला ।’

विभिन्न उतारचढाव र छलफलबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको उद्येश्यलाई पूरा गर्ने गरी छलफल बहस अघि बढ्ने प्रचण्डको भनाइ थियो ।

‘पार्टीलाई दुर्घटनाबाट बचाउँदै पार्टी एकताको रक्षा गरेर अझ बढी मजबुत र रुपान्तरण गर्ने गरी बैठकले ढोका खोलेको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘विचारको बहस गर्दै पार्टीलाई एकताबद्व पार्न यो बैठक सफल भएको छ।’

उनले बैठकमा अब आफू पार्टी निर्माणमा केन्द्रित हुने पनि उनले बताए। प्रचण्डले प्रतिवेदनमा लेखेको सबै कुरा लागू गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

‘प्रतिवेदनमा लेखेको कुरा लागू गछौं, एकता मुख्य थियो, पार्टी एकता बचाइयो, विभिन्न आशंका थिए, गर्दै जाँदा जे पनि हुन्थ्यो, अब ढुक्कसँग पार्टीलाई महाधिवेशनमा लगिन्छ,’ प्रचण्डले भने।

नेकपामा प्रचण्डको फेरिएको भूमिका उनको आसनमा पनि झल्किन्थ्यो । शुक्रबारको बैठकमा प्रचण्ड हलको बीचमा राखिएको कुर्सीमा बसेका थिए। यसअघि बैठकमा नेताहरुको आसनको विषयमा पनि नेकपा नेतृत्वमा किचलो देखिएको थियो।

प्रचण्डले १५ बुँदे सहमतिको संयुक्त प्रस्ताव नै महाधिवेशनमा जाने मुख्य आधार भएको बताए। स्थगित भएको ४३ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एकै दिनमा सकिएको छ।

सहमतिका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डले १५ बुँदे प्रस्ताव ४४ जनै स्थायी समिति सदस्यलाई बैठक बस्नु दुईदिन अघि नै अध्ययनका लागि पठाएका थिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधानको सुझाव कार्यदल गठन गरिएको थियो। सोही कार्यदलले दिएको १७ पृष्ठको सुझावलाई थप परिमार्जन गरेर ओली र प्रचण्डले संयुक्त रुपमा सहमतिको प्रस्ताव तयार पारेका थिए। जसलाई आज बसेको बैठकले पास पनि गरेको छ।

बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष पनि निकालेको छ।

‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने।

कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठक चलाउन दिएर ओली भने आफ्ना धारणा राखेर बाहिरिएका थिए।