प्रचण्डको तीनदिने भारत भ्रमणको चिरफार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डको तीनदिने भारत भ्रमणको चिरफार



काठमाडौं- भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा भारत पुगेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् ।

स्वदेश फर्कने क्रममा प्रचण्डले भ्रमण सफल भएको दावी गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने– ‘जाने बेलामा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ । दिल्लीमा नेताहरु, पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ । भ्रमण अपेक्षाअनुसार सफल भएको छ । मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ ।’

प्रचण्डले भारत भ्रमणमा गरिएको सम्मानको पनि उच्च प्रशंसा गरेका छन् । प्रधानमन्त्री हुँदा र नहुँदाका दुई भ्रमणमा फरक नरहेको उनको भनाइ थियो ।

प्रचण्डले भने– ‘सरकार र भाजपाको जुन–जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा फरक लागेन । उस्तै–उस्तै गरेको पाइयो ।’

भ्रमणका क्रममा भारतीय पक्षबाट भएको स्वागत र भेटलाई आधार मान्ने हो भने प्रचण्डले दावी गरे झै प्रचण्ड भारतीय पक्षको प्राथमिकतामा रहेको देखिन्छ ।

तीन दिने भ्रमणका क्रममा प्रचण्डले भाजपाका अध्यक्ष जेपी नाड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर र भातरीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् । यी तीनै उच्चस्तरीय भेटवार्ता हुन् ।

यी भेटपछि प्रचण्डले भनेका छन्– ‘भारत भ्रमण कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।’

भ्रमणकै क्रममा प्रचण्डले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा नेपाल–भारत सम्बन्धनबारे मन्तव्य राखेका थिए ।

प्रचण्डकै लागि आयोजना गरिएको कार्यक्रममार्फत प्रचण्डले भारती भूमिबाट भारत अनिच्छुक रहेको विषय उजार गर्ने प्रसाय गरे ।

प्रचण्डले नेपाल–भारतबीच सन् १९५० मा भएको असमान सन्धि पुनरावलोकन गर्नुपर्ने बताए । कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जानुपर्नेमा प्रचण्डको जोड थियो ।

प्रचण्डसँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा भने– ‘प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

भाजपा अध्यक्ष र प्रचण्डबीच भेटवार्ता भएपछि जयशंकरले थप ट्वीट गरे– ‘नेपाल–भारत सम्बन्ध र पार्टी–पार्टीको सम्बन्धबारे न्यानो र सौहार्दपूर्ण वातावरणमा छलफल भयो ।’

यसरी हेर्दा प्रचण्डको भारत भ्रमण भारतीय पक्षको प्राथमिकतामै परेको देखिन्छ । तर, एउटा विषयले भने प्रचण्डको भ्रमणलाई खल्लो बनायो । जुन कुरा थियो– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसक्नु ।

सत्तारुढ दलको निमन्त्रणमा भ्रमण हुनु, दलका अध्यक्ष र विदेशमन्त्रीले भेट्नु तर सोही दलबाट प्रधानमन्त्री भएका मोदीले अन्तिम समयमा भेट क्यानसिल गर्नुले प्रचण्डबारे भारतीय धारणा सकारात्मक छैन कि ? भन्ने प्रश्न उब्जायो ।

प्रचण्डको भारत भ्रमण हुने भएपछि प्रचण्ड र मोदीबीच भेटवार्ता हुने तालिका पहिले नै तय भएको थियो । पूर्वनिर्धारित तालिकाअनुसार तीन दिने भ्रमणको अन्तिम दिन प्रचण्ड–मोदीबीच भेटवार्ताको समय थियो । तर, अन्तिम अवस्थामा भेट क्यानसिल भयो ।

नेपाल फर्केपछि प्रचण्डले मोदीसँग किन भेट हुन सकेन भन्नेबारे आफू पनि अनभिज्ञ रहेको प्रतिकृया दिए । प्रचण्डले भने– मोदीसँग ‘लास्ट आवर’मा भेट हुन सकेन, यसबारे म पनि अनभिज्ञ छु । तर टेन्सन छैन ।’

प्रचण्डले मोदीसँग भेट नहुँदा ‘टेन्सन छैन’ भने पनि कुनै देशका पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका नेता पूर्वनिर्धारित तालिकामै भ्रमणमा आउँदा प्रधामन्त्रीले अन्तिम समयमा भेट क्यानसिल गर्नु अर्थपूर्ण रहेको नेपाल–भारतबारे जानकारहरु बताउँछन् । तर, कोही भने यसलाई समान्य मान्नुपर्ने मत राख्छन् ।