प्रचण्डले भने: अरूको विचार र भावना नबुझे पार्टी विघटन हुन्छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्डले भने: अरूको विचार र भावना नबुझे पार्टी विघटन हुन्छ



वीरेन्द्रनगर- नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनतिर जानसक्ने बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आइपरेका खतरा रोक्न नसके बिघटन हुने खतरा बढेको बताएका हुन् ।

उनले पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको र बिघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने भन्दै उनले पार्टी विघटन गराउन कसरत धेरैले गरेको बताए।

‘पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’

अहिले सबैतिर कम्युनिस्ट अस्ताएको र नेपालमा पनि दुई ठूला कम्युनिस्ट मिलेकाले प्रतिक्रियावादीहरू सल्बलाई रहेको उनको भनाइ छ।

कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।

‘बैठक टार्ने हिसाबले बैठक बस्दैन,’ दाहालले भने, ‘सबैको विचार सुन्ने गरी बैठक बस्छ।’ यहाँ बैठक टार्ने र झमेला लाग्ने गरी बैठक बस्ने गरेको भन्दै उनले त्यो बैठक नभइ गुटको गलत कार्यशैली भएको बताए।

‘समस्या पर्‍यो भने बैठक बस्नुपर्छ,’ उनले भने, ‘विचार र भावना सही छ भने स्वीकार गर्ने र स्वीकार्न सकिन्न भने कन्भेन्स गरेर विचार सुन्छौं।’ साथै उनले आट्यो भने सबै प्रदेशमा नेकपाको सरकार हुने भन्दै यसको महिमा र गरिमालाई आत्मसाथ गर्नुपर्ने बताए।