के प्रचण्डले सबैलाई प्रधानमन्त्री बनाउने ठेक्का लिएका हुन् ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

के प्रचण्डले सबैलाई प्रधानमन्त्री बनाउने ठेक्का लिएका हुन् ?



किङ खनाल

२०५२ साल पछि द्वन्दकाल रहुन्जेल सम्म गाउँ देखि सहर सम्म, सुगम देखि दुर्गम सम्म भित्ता भित्तामा एउटा फोटो भेटिन्थ्यो, खाइलाग्दो शरीर सहितको, लालसलाम गरेको, कालो दाह्री सहितको स्केच टाइपको पोष्टर । प्रचण्ड नाम गरेको उक्त फोटो हेरेर मान्छेहरू भन्थे ‘ यो काल्पनिक पात्र हो । ’

प्रचण्ड त्यति बेला प्रचण्डपथका कारण चर्चामा थिए । उनी जनयुद्धमा एउटा काल्पनिक पात्रका रूपमा पनि उत्तिकै चर्चित थिए । सबैको चासो थियो ‘ के साँच्चै प्रचण्ड भन्ने मान्छे छन् त ? ’कल्पना गर्नेहरुले यति सम्म गर्थेकी कहिले तत्कालीन राजा ज्ञानेन्द्रलाई प्रचण्डको रूपमा कल्पना गर्थे ।

शान्तिप्रक्रिया सुरु भएपछि हालसम्म पनि उनी उत्तिकै चर्चामा छन् , जति जनयुद्ध कालमा थिए । कहिले दुई ठाउँ बाट हारेका माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाएर त कहिले रुक्मागत कटुवाल काण्डमा फसेर, कहिले भित्ते राष्ट्रपतिको ट्यागले त कहिले पशुपतिको भट्ट ब्राह्मण हटाउने प्रसङ्गले ।

नेपाली राजनीतिका मुखिया जस्तै देखिने यी पात्र एक दशक देखि राजनीतिलाई आफ्नो अँगाडी पछाडि लिएर हिडिरहेका  छन् । यस अर्थमा राजनैतिक जस र अपजस पनि उनी आफैले लिनुपर्छ । कतिपय उथलपुथलमा उनी तत्काल हिसाब किताबमा नकारात्मक देखिएपनि दिर्घकालमा सकारात्मक रिजल्ट देखिएका छन् । आँशिक बाहेकका सबै जसो देशसँग जोडिएका विषयमा उनले सफलता हासिल पनि गरेका छन् ।

सुरुमा रुक्मागत काण्डमा पनि उनी दोषी देखिए । त्यस्तै अर्को टट्कारो काण्ड थियो पशुपतिनाथको भट्ट नामको भारतीय पुजारी हटाउने प्रस्ताव । त्यति बेला काँग्रेस र एमालेले भट्ट हटाउने कुराको खेदो खने, यो प्रक्रिया पुरा हुन पनि दिएनन तर पछि यो महत्त्वपूर्ण कदम सफल पारिनुपर्थ्यो भन्ने जनताले विश्लेषण गरे । यी र यस्ता धेरै प्रसङ्गले प्रचण्डलाई अहिले उचाइ दिएको विश्लेषकहरु बताउँछन् ।

अब प्रसङ्ग बदलौँ,

यति बेला झलनाथ खनालले ऋषि धमलाको कार्यक्रममा बोलेको कुराले बजार तातेको छ, आखिर के थियो त त्यो अभिव्यक्ति ?
“दसैँ पछि सरकार परिवर्तन हुन्छ बामदेब गौतमलाई प्रचण्डले प्रधानमंत्री बनाउँछन ” झलनाथ खनालले उक्त कार्यक्रममा बोलेका एउटा गम्भीर विषय हो यो । झलनाथको यो अभिव्यक्तिले दुई खाले प्रश्न सृजना गरेको छ ।

(१) एमाले भित्र मोर्चाबन्दी भइरहेको छ र प्रधानमन्त्री को सेन्टिमेन्ट देखाएर बामदेवलाइ आफ्नो कित्तामा ल्याउन चाहन्छन ।

(२) प्रचण्ड बाहेक अरूले प्रधानमन्त्री बनाउन सक्दैन ।

एकै छिन पहिलो प्रसङ्गमा बहस गरौँ !

बामदेबलाई प्रधानमन्त्रीको स्वाद चखाउने रणनीति:
एमाले भित्र के पी ओलीबाट रुष्ट केही नेताले एउटा छुट्टै कित्ता तयार गर्दैछन । केपी ओलीलाई कमजोर गराउनको लागि आन्तरिक खेल सुरु भएको धेरै भैसक्यो । यति बेला झलनाथ खनाल माधव कुमार नेपाल लगाएतका नेतालाई पार्टीको पहिलो र दोध्रो पंतिबाट साथ चाइएको छ । एमाले भित्र सबैलाई रिझाउने, सम्झाउने खुबी भएका नेता मध्य बामदेव एक मानिन्छन । यो जिम्मेवारी बामदेवले राम्रोसँग निभाउन सक्छन् । यति सम्म कि कुनै समय नेकपा एमालेले प्रचण्डलाई सम्झाउनको लागि पनि बामदेवलाइ प्रयोग गर्थ्यो ।

बामदेव गौतमले अबको प्रधानमंत्रीमा एमाले बाट आफ्नो दाबी रहने कतिपय कार्यक्रममा बताउने गरेका पनि छन् त्यसैले झलनाथले प्रधानमन्त्रीको तुरूप प्रयोग गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । र अब प्रचण्डले प्रधानमन्त्रीको स्वाद चखाउन बाकी खेलाडी पनि यिनै बाकी छन् जो बरियताका हिसाबले अब पहिलो नम्बरमा पर्नेछन ।

दोस्रो प्रसङ्गमा बहस गरौँ !

नेपाली राजनीतिमा अझै केही वर्ष प्रचण्ड बाहेक अरूले प्रधानमन्त्री बनाउन सक्दैन:
पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको एक चतुर खेलाडीको रूपमा देखिएको त माथि चर्चा भैसक्यो । शान्तिप्रक्रिया सुरु भैसकेपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सहमति गरेका प्रचण्डले एकाएक सहमति तोडे । त्यो राजनीतिलाई घुमाउने एउटा गोटी थियो प्रचण्डको । यसमा बेला बेला उनले आफ्नो महान् गल्ती भनेरै कांग्रेसीहरुको सहानुभूति बटुल्न पछि पर्दैनन् ।

दुई स्थान बाट चुनाव हारेका माधव कुमार नेपाललाई प्रधानमंत्री बनाएर चकित तुल्याउने अरू कोही नभएर प्रचण्ड नै हुन् । यतिसम्म कि एमालेबाट पछिल्लो समय जति प्रधानमंत्री बने सबैमा प्रचण्डकै हात थियो । झलनाथ स्वयम् प्रधानमंत्रि प्रचण्डकै तिगडमबाट बनेका हुन, के पी ओलीलाई बनाउने पनि उनी थिए । निकट भविष्यमै बामदेबले प्रधानमन्त्रीको बागडोर सम्हाले भनेपनि त्यो प्रचण्डकै खेल ठहरिनेछ । यदि यो अर्थमा झलनाथले बामदेवलाई प्रचण्डले नै प्रधानमन्त्री बनाउछन् भन्ने बोलेका हुन् भने नेकपा एमाले भित्र एउटा तहमा यो जगजाहेर छ कि प्रचण्डले यो देशको प्रधानमन्त्री जसलाई पनि बनाउन सक्छन् वा प्रचण्डले बाहेक अरूले प्रधानमन्त्री बनाउन सक्दैन ।

सत्तामा रहदा सम्म या प्रचण्डको इसारामा नाच्दा सम्म प्रचण्डको भजन गाउँने तर प्रचण्डले नचाउन छाडना साथ उनलाई भारतीय लम्पसारबादीको तक्मा भिराउने हरेक दलका शिर्षस्थ नेताहरू यति बेला सत्ता र पदिय लोभका लागी प्रचण्डको कुरालाई नकार्न भने सक्दैनन । सत्ता प्राप्तिको लोभकै कारण एमाले , कांगे्रस अनि राजपा लगायतका साना दल प्रचण्डको एक इसारामा नाच्न थाल्दछन ।

एउटा कुरा के प्रस्ट भएको छ भने अझै दश वर्ष सम्म नेपाली राजनीतिमा प्रचण्डको हालीमुहाली चल्नेछ । उनले जसको टाउकोमा हात राख्नेछन , त्यो सत्ताको स्वाद चाख्न पाउने भाग्यमानी ठहरीने छ ।