सरकारमा बसेर संघीयता र गणतन्त्रको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डको चेतावनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकारमा बसेर संघीयता र गणतन्त्रको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डको चेतावनी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् ।

मंगलबारको राष्ट्रियसभा बैठकमा उनले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न आफू गम्भीर भएको बताए ।

“मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीयज्यूहरूले प्रश्न उठाउनुभयो । मेरै क्याबिनेटको मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल बाहिर बस्ने भए मात्र व्यवस्थाविरुद्ध धारणा राख्न पाइने बताए । “मन्त्रीमण्डल बाहिर गएर आफ्नो कुरा राख्न पाइन्छ । तर, सरकारभित्र बसेर बोल्ने अधिकार नैतिक रूपमा र कानुनी रूपमा हुँदेन । यो स्पष्टीकरणको विषय हो,” उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान राज्यव्यवस्थाको विरोधी दल हो । राप्रपाले राजसंस्था र हिन्दुराज्य तथा संघीयता खारेजीको माग गरिरहेको छ ।

प्रतिनिधिसभामा १४ सिट रहेको राप्रपा सरकारमा समेत छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् । राप्रपाले निर्वाचनको घोषणापत्रमै प्रदेश खारेजी गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।