किन डराए प्रचण्ड ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

किन डराए प्रचण्ड ?



काठमाडौं– पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई डर लागेको अभिव्यक्ति दिएका छन् । उनले राजा जस्तै जनताले आफूहरूलाई पनि गलत्याउने भन्दै डर ब्यक्त गरेका हुन् ।

प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति पनि चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीको समेत आलोचना गर्दै यस्ता प्रवृत्तिले गर्दा नै जनताले ल्याएको ठुलो परिवर्तन पनि जनतामुखी हुन नसकेको चिन्ता ब्यक्त गरे ।

पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाए।

उनले भने, ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’
उनले भने, ‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, तर कम्युनिष्टहरु जब सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन् । एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन् ।’

उनले अब पनि चनाखो नहुने र आफूलाई सुधार नगर्ने हो भने जनताले लखेट्ने तर्क गरे।। उनलेभने, ‘हिजो राजा महाराजा लखेटेका जनता हुन् ।

कम्युनिष्टहरु पनि राजा महाराजा जस्तो हुन खोजे भने बाँकी राख्दैनन, हामीकहाँ त्यस्तै लक्षण देखिँदैछ ।’ हिजो आफूहरु निकै अनुशासित भएकैले पार्टी एकता गरी यो अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले पार्टीभित्र अराजकता र अनुशासनहिनता बढ्दै गएको आरोप लगाए। ।