प्रचण्ड भन्छन्: फेरि प्रधानमन्त्री भएर देशको कायापलट गर्ने योजना छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्ड भन्छन्: फेरि प्रधानमन्त्री भएर देशको कायापलट गर्ने योजना छ



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्। दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अब प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन्।

नेपाल पर्वतारोहण सङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एकपटक प्रधानमन्त्री हुने सपना रहेको बताए। परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए।

उनले आफू यसअघि प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए। राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उनको दाबी थियो।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो।

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मुलुकमा देखिएको आर्थिक सङ्कटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको पनि उल्लेख गरे।