जसले काँध थाप्यो उसैलाई धम्की - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जसले काँध थाप्यो उसैलाई धम्की



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेशसभा र संघीय निर्वाचनमा माओवादीलाई दोस्रो हुन नसघाए कांग्रेसलाई ठेगान लगाउने धम्की दिए।

शनिबार पार्टीको सम्पर्क अध्यक्ष प्रचण्डले समन्वय प्रदेश कमिटीको प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिले एकातिर आफू दोस्रो दल हुनमा कांग्रेसकै भरपर्नु पर्ने देखाएको छ भने अर्कोतर्फ उसैलाई धम्कीसमेत दिएका छन्।

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे भने अर्कोतर्फ कांग्रेसलाई चोर औंला ठड्याउँदै सम्झौताअनुसार तलमाथि भए ठेगान लगाउने चेतावनी दिएका हुन्।

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म दायाँबायाँ हुन नहुने विषय कांग्रेस क्रियाकलापमा भर पर्ने बताएका उनले आफ्नो पार्टी दोस्रो बनाउन पनि कांग्रेसकै भर पर्नुपर्ने बाध्यता भएको पनि दर्शाए। भने, ‘प्रस्टसँग भन्न चाहन्छु, अहिले यही ५ दलीय गठबन्धन कायम हुन्छ। यसलाई दायाँबायाँ गरिन्‍न। सबैले गठबन्धनको निर्णयअनुसार चल्नैपर्छ।’

दाहालले माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनिएको र त्यो नभए राजनीति सहज रूपमा अगाडि नबढ्ने चेतावनी दिए। भने, ‘सायद पहिलो तपाईंहरू (कांग्रेस) नै हुन्छ। दोस्रो माओवादी केन्द्र हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चीज सहज जान्छ, अन्यथा सहज हुन दिँदैनौं।’

दलीय गठबन्धन गत स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर अघि बढ्नुपर्ने दाहालको धारणा छ। उनले यो पटक स्थानीय चुनावको जस्तो हुन नदिइने पनि बताए।

उनले दोस्रो दल बनेर चुनावपछिको प्रधानमन्त्री हुने रहर पनि पालेको देखिन्छ। त्यसका लागि पनि कांग्रेस नै वैशाखी बनिदिनुपर्ने आशय उनको छ। तेस्रो पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्दै उनले भने, ‘हामीलाई अघि जान यो चुनावले धेरै ठूलो मद्दत गर्नेछ। त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ। हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ। मलाई भन्‍नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्। यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’

उनले कांग्रेसलाई मात्रै धम्की दिएनन्, उनका पूर्वसहकर्मीहरुको पनि आलोचना गरे। अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे। उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी–माओवादी केन्द्र भएको स्थापित गरिदिएको दाबी गरे।
यसलाई पुष्टि गर्न थपे, ‘माओवादी भनेको त माओवादी केन्द्र मात्रै हो। अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो। किरण माओवादी काम छैन अब, विप्लव माओवादीको पनि अब अर्थ छैन। बाबुराम त माओवादी नै होइनन्,तिनको हिसाब नै भएन।’

उनले मुलुकको विकास माओवादीबिना सम्भव नभएकोसमेत दाबी गरे। भने, ‘माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ। देश विकास गर्नेकुरा माओवादी बिना सम्भव छैन।’

उनले आगामी तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताउँदै देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको दाबी गरे। ‘तीन महिना अभियानको रुपमा जाने हो भने देशको राजनीतिक रंगमञ्चमा, देशको राजनीतिक मानचित्रमा बदल्नसक्ने तागत माओवादीसँग छ’, उनले भने,’हामी परिवर्तन ल्याउने अरुले देलान् र खाउँला जस्तो भएका छौँ। अब त्यस्तो होइन, हामी आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न जरुरी छ।’

पछिल्लो पटक केही व्यक्तिहरुले सामाजिक सञ्‍जालमा चलाइरहेको प्रधानमन्त्री भइसकेकाहरुलाई बिदा गर्ने अभियानप्रति कटाक्ष गर्दै उनले भने, ‘समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेका छन्। त्यसलाई पराजित गर्न आवश्यक छ।

त्यसका लागि अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहन्छ। कुनै पनि समाजवादी केन्द्र बन्दैन। उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे।