राजनीति बिगार्ने योद्धा र पिडा खेप्ने प्रचण्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राजनीति बिगार्ने योद्धा र पिडा खेप्ने प्रचण्ड



काठमाडौं- दश वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा सक्रिय रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक व्यस्तता बढ्दो छ ।

बिहानदेखि रातिसम्म हुने भेटघाट, बैठक, पार्टीका कार्यक्रममा पुग्न प्रचण्डलाई भ्याईनभ्याई हुन्छ । दैनिक १५ घण्टासम्म राजनीतिमा व्यस्त रहने उनै प्रचण्डको पारिवारिक अवस्था भने निकै पीडादायी रहेको बताइन्छ ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा !

शोषित, उत्पीडित वर्गको मुक्तिका लागि भन्दै आफ्नै नेतृत्वमा शुरु भएको जनयुद्धको कठिन बेलामा समेत प्रचण्डले परिवारबाट भरपर्दो साथ र सहयोग पाएका थिए । त्यतिबेला प्रचण्डसँगै सिंगो परिवार जनयुद्धमा होमिएको थियो । राजनीतिको कठिन मोडमासमेत परिवारको साथ पाएका प्रचण्डले केही वर्षयता भने लगातार एकपछि अर्को पारिवारिक पीडा भोग्नुपरेको छ ।

तीन वर्षअघि जवान छोरा गुमाएका प्रचण्डले त्यसअघि जेठी छोरी ज्ञानु दाहालको अन्तिम बिदाइ गर्नुपरेको थियो । २०७४ सालको निर्वाचनका बेला छोरा प्रकाश दाहाललाई अकल्पनीय रुपमा गुमाउनुपर्यो । प्रकाश प्रचण्डका छोरामात्र थिएनन् भरपर्दो सहयोगी पनि थिए । प्रकाशलाई पशुपति आर्यघाटमा हजारौँ समर्थक र शुभचिन्तककाबीच अन्तिम बिदाइ गर्दा प्रचण्डको राजनीतिक सक्रियता घट्ने अनुमान गरिएको थियो ।

तर, प्रचण्डको राजनीतिक सक्रियतामा बिराम लागेन, झन् सक्रियता देखिएको हो । त्यतिबेला प्रचण्डलाई वाम गठबन्धनलाई जिताउनुपर्ने महत्वपूर्ण जिम्मेवारी थियो, त्यसैले उनी चुनावी अभियानमा थप सक्रिय भएर लागे ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा ! त्यस्तै पीडाबाट गुज्रिएका प्रचण्डलाई अहिले पत्नी सीता दाहालको बिग्रँदो स्वास्थ्य अवस्थाले थप पीडा दिएको छ । शनिबार सार्वजनिक सीताको एउटा फोटोले प्रचण्डमाथि गुज्रिरहेको पारिवारिक पीडाको अनुमान लगाउन सकिन्छ । छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीता दाहालको स्वास्थ्य निकै कमजोर रहेको देखिन्छ । फोटोमा सीता निकै कमजोर र दुब्लो देखिएकी छन् ।

प्रचण्डलाई पार्टीको नेता, जनयुद्धको सर्वोच्च कमाण्डर हुँदै मुलुकको प्रधानमन्त्रीसम्म बनाउन सीताको भूमिका महत्वपूर्ण थियो । प्रचण्ड आफैंले सार्वजनिक रुपमा पटक–पटक आफ्नो राजनीतिक जीवनमा सीताको भूमिकाको प्रशंसागर्ने गरेका छन् । निम्नमध्यम वर्गीय परिवार, स–साना छोराछोरीको रेखदेख र सम्पूर्ण पारिवारिक जिम्मेवारी लिएर सीताले प्रचण्डलाई पूर्णकालीन राजनीतिमा लाग्ने बाटो नखोलेको भए आज देखिएको प्रचण्डको राजनीतिक सक्रियता कसैले पनि अनुमान गर्न सक्दैनथ्यो ।

उनको राजनीतिक लाइनमा सहमत वा असहमत जे भएपनि पारिवारिक तनावकाबीच उनको राजनीतिक सक्रियताको भने प्रशंसा गर्नैपर्छ । त्यसैले भनिएको होला, ’राजनीतिज्ञका लागि राजनीतिभन्दा ठूलो केही हुँदैन ।’

मुलुकको राजनीति बिग्रिनुमा अरुजस्तै प्रचण्ड पनि जिम्मेवार छन् । तर, यत्रो पारिवारिक पीडा खेपेर पनि राजनीतिमा देखिएको उनको सक्रियताचाँहि लोभलाग्दो भएको जनआस्थाले लेखेको छ ।