स्वार्थकै लागि पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई एक्ल्याए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्वार्थकै लागि पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई एक्ल्याए



काठमाडौं – पार्टी शीर्ष नेताबीच सहमति नभई स्थायी कमिटी बैठक चल्न नहुने अडान राख्दै अध्यक्ष ओलीले साउन १३ गते बिहानै बैठक अनिश्चितकालका स्थगित भएको सूचना एकतर्फी रुपमा प्रवाह गरे । एकछिन अलमल भयो । प्रचण्डले बैठक स्थगित नगर्ने अडान लिए ।

ओलीसँग भेटपछि प्रचण्डले बैठक अगाडि बढाए । तर बैठक सुरू गर्दै प्रचण्डले यसलाई स्थायी कमिटी बैठकको निरन्तरता नभई अनौपचारिक छलफलको रुपमा लिनुपर्ने धारणा राखे । प्रचण्ड–नेपाल समूहको खुमलटार बैठकको निष्कर्ष र भाव स्खलित भयो ।

बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहको छलफलमा स्थायी कमिटी बैठक भन्ने कि समूहको भेला भन्नेमा विवाद मच्चियो । बैठकले सहमतिका लागि प्रचण्डले ओलीसँग छलफल गर्ने निर्णय गरेको सार्वजनिक गरियो । स्थायी कमिटी बैठक फेरि अनिश्चितकालका लागि स्थगित भयो ।

प्रचण्ड–नेपाल समूहको भेला एजेन्डामा प्रवेश गर्न सकेन । स्थायी कमिटी बैठकको अर्काे मिति तोक्न सकेन । यसअघि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेझै नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले नरम हुँदै बैठकमा भने, ‘यसलाई स्थायी कमिटी बैठकको निरन्तरताका रूपमा बाहिर लिएर नजाऔं, यसले थप विग्रह पैदा गर्न सक्छ । यसलाई बहुमत सदस्यहरूको भेला मात्र भनौं । थप संवाद र सहमतिका लागि हामी अझ बढी प्रयास गर्नेछौं ।’

बैठकमा माधव नेपाल पक्षका बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य लगायतले स्थायी कमिटी बैठक नै भन्नुपर्ने अडान आक्रामक रुपमा राखेपछि स्थायी कमिटी बैठक भनेर निर्णय सार्वजनिक गरिएको थियो । तर प्रचण्ड स्थायी कमिटी बैठक भन्ने पक्षमा थिएनन् । यद्यपी उक्त भेलापछि प्रधानमन्त्री ओलीकै निवासमा गएर एकताको लागी लचकता अपनाएको, उनकै आगनमा गएर प्रधानमन्त्री ओलीको कार्यशैली ठिक नभएको र पार्टीको विवाद समाधानको लागी जिम्मेवार भुमिका निर्वाह गर्न सफल भएको प्रचण्ड–नेपाल पक्षको ठहर छ ।

स्वार्थकै लागि पूर्वमाओवादी नेताले प्रचण्डलाई एक्ल्याए

पार्टीमा स्पष्ट बहुमत भएको भनेर प्रचण्ड–नेपाल पक्षले प्रचार गरेपनि त्यो समूहभित्र अध्यक्ष प्रचण्डको शक्ति भने कमजोर देखिएको छ । वरिष्ठ नेता नेपालको समूहमा सक्रिय भएर राजनीतिक भविष्य सुरक्षित गर्न र फाइदा लिन सकिनेमा प्रचण्ड सशंकित देखिएको स्रोतले जनाएको छ । विभिन्न स्वार्थ र प्रलोभनका कारण पूर्व माओवादी समूह छिन्नभिन्न भएपछि अध्यक्ष प्रचण्ड ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन हच्किएको विश्लेषण नेकपाभित्र छ ।

पूर्व माओवादी समूहमा ४ जना नेता स्पष्ट रुपमा प्रधानमन्त्री ओली समूहतिर गएका छन् । कसैको मन्त्री पद खोसिने र कोहि भने मन्त्री बन्ने स्वार्थकै कारण विभिन्न नेताहरूले प्रचण्डलाई साथ् दिन छाडेको प्रचण्ड निकट एक नेता बताउँछन् ।

गृहमन्त्री रामबहादुर थापा, मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा मंगलबारको बालुवाटार भेलामा सहभागी भएनन् भने सम्पर्कमा समेत आएनन् । उनिहरुको पक्षमा नेकपामा ठुलो समुह छ । उनीहरूको छुट्टाछुट्टै स्वार्थ छ ।

पूर्व माओवादीकै प्रवक्ता नारायणकाजी श्रेष्ठ, गणेश शाह, मातृका यादव र गिरिराजमणि पोखरेल पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल समूहतिर नजिक छन् । प्रचण्ड र नेपालबीच अन्तर्संघर्ष हुँदा यी नेताबाट प्रचण्डले साथ पाउने सम्भावना भएको नेपाल पक्षको बुझाई छ । प्रचण्ड–नेपाल सँगसँगै हुँदा भने यी नेताहरू ओलीविरुद्ध देखिएका छन् ।

प्रचण्डका अत्यन्तै विश्वासपात्र मानिने नेताहरु हरिबोल गजुरेल र चक्रपाणि खनाल ‘बलदेव’ तथा देवेन्द्र पौडेल समेत प्रचण्डसँग असन्तुष्ट छन् । प्रचण्डले सुझाव मान्न र संरक्षण दिन छाडेको यी नेताको गुनासो छ । उनिहरुले प्रधानमन्त्री ओलीसंग नजिक रहेका नेता लेखराज भट्टसंग निरन्तर छलफलमा छन् ।

गजुरेलले नेकपाका अध्यक्ष प्रचण्डले आफुले दिएको सुझाव प्रचण्डले नमान्दा नेकपामा यो अवस्था भएको बताए । उनले उत्तः सुझाव उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका छन् ।पुर्वमन्त्री समे रहेका नेता गजुरेलले प्रचण्डप्रति असन्तुष्टि व्यक्त गर्दै आएका गजुरेलले प्रचण्ड नमज्जासँग घेराबन्दीमा पर्दै गएको बताउंदै आएका छन् ।

प्रचण्डलाई केही सीमित व्यक्तिले घेराबन्दीमा पार्ने काम गरेको, उक्साउने काम गरिरहेको उनको आरोप छ । सगरमाथा टेलिभिजनसंगको अन्र्तवार्तामा समेत उनले आफुलाई प्रचण्डले अविश्वास गरेको बताएका थिए ।

नेकपका तत्कालीन स्थायी कमिटी सदस्य अग्नि सापकोटा सभामुख भएकाले पार्टी राजनीतिमा सक्रिय साथ दिन पाउँदैनन् । औपचारिक नभए पनि स्थायी कमिटी सरहकै हैसियतका पूर्व सभामुख कृष्णबहादुर महरा समेत प्रचण्डको समर्थनमा छैनन् । उनि गृहमन्त्री रामबहादुर थापासंग निकट छन् । महराले आफु धुव्रिकरणको पक्षमा रहेको निकट नेताहरुसंग बताउंदै आएका छन् । विगत लामो समयदेखि प्रचण्डलाई टेको लगाउँदै आएका नेताहरू अहिले छिन्नभिन्न भएका छन् ।

प्रचण्डलाई हाल मन्त्रीद्वय वर्षमान पुन ‘अनन्त’ र शक्ति बस्नेत तथा जनार्दन शर्मा ‘प्रभाकर’, पम्फा भुसाल,लिलामणि पोखरेल र देव गुरुङले खुलेरै समर्थन जनाएको स्रोतले बताएको छ । जुनसुकै बेला पनि गृहमन्त्री थापाले पम्फा भुसाल र देव गुरुङलाई प्रभावमा पारेर प्रचण्डबाट अलग गर्नसक्ने खतरा समेत रहेको पूर्व माओवादी नेताहरू बताउँछन् । यसरी स्थायी कमिटी बैठकमा प्रचण्डलाई भित्रैदेखि सघाउने नेताको खडेरी हुँदै गएको छ । कमजोर अवस्थामा रहेका प्रचण्डलाई पूर्व माओवादीका युवा नेताहरूले दुवै अध्यक्ष मिल्नुपर्ने दबाब दिँदै आएका छन् ।

बालुवाटारमा वैठक चलिरहंदा बुधवार उर्जामन्त्री पुनले गृहमन्त्रीले बादललाई टेलिफोन गरेर दुवै अध्यक्षलाई मिलाउन भुमिका खेल्न आग्रह गर्नुले पनि तिनै कुराको पुष्टि हुन्छ । पुर्व माओवादीमा धेरै नेताहरुले अध्यक्ष प्रचण्डलाई अर्का प्रधानमन्त्री ओलीसंग सहकार्य गर्नुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

पार्टी एकीकरणपछि नेकपामा उपाध्यक्ष वामदेव गौतमले प्रचण्डलाई लगातार सघाउँदै आएका थिए । तर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एजेन्डामा उपाध्यक्ष गौतमको समर्थन नरहने मंगलबारको बालुवाटार बैठकमा स्पष्ट पारिएको छ । गौतम प्रतिनिधि सभाको ५ वर्षे कार्यकालभर नै ओली प्रधानमन्त्री रहनुपर्ने पक्षमा देखिएका छन् । गौतमको नयाँ प्रस्तावले प्रचण्ड झनै अप्ठ्यारोमा परेका छन् ।

आफु निकट नेताहरुनै छिन्न भिन्न भएपछि ओलीइतरको समूहभित्र पनि प्रचण्डले आफूलाई कमजोर भएको अनुभव गर्न थालेका छन् । प्रचण्ड एक पटक फेरी प्रधानमन्त्री ओलीसंग फाइलन वार्ता गर्ने निष्कर्शमा पुगेको बताइन्छ ।