प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल



काठमाडौं- निर्वाचन आयोगले संसदीय निर्वाचनको तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीप्रति चरम असन्तुष्टि जनाएका छन् ।

अहिलेको निर्वाचन प्रणालीबाट गरिव र जनताका प्रतिनिधि चुनिन नसक्ने भन्दै उनले यो प्रणालीबाट दलाल मात्रै चुनिन सक्ने बताएका छन् । उनले यही चुनाव प्रणालीले गणतन्त्र नै खतरामा पर्ने संभावना देखिएको दाबी समेत गरे ।

सार्वजनिक रूपमा निर्वाचन प्रणालीबारे प्रश्न उठिरहेका बेला माओवादी अध्यक्ष समेत रहेका गठबन्धन दलका नेता प्रचण्डको उक्त अभिव्यक्ति अर्थपूर्ण मानिएको छ । यसअघि पनि नेताहरूले संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने आवाज उठाइरहेका छन् ।

यस्तो अवस्थामा प्रचण्डले दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । खासगरी अहिलेको निर्वाचन प्रणालीबाट जनप्रतिनिधि चिनिन करोडौं रकम खर्च गर्नुपर्ने अवस्था छ ।

नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघमा चुनाव लड्न अर्बौं रुपैयाँ चाहिने अवस्था आएको बताए । उनले भने, ‘गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने सुनिएको छ, यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति देखियो ।’

गरीबले चुनाव जित्नु सपना जस्तो भएको भन्दै उनले अब दलालहरू आउने समेत बताए । उनले भने ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

निर्वाचन प्रणालीकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति नागरिकले गर्न नपाएको पनि प्रचण्डको दाबी छ । यसअघि चुनाव प्रणालीबारे खासै अभिव्यक्ति नदिने प्रचण्डको यो असन्तुष्टिलाई अर्थपूर्ण मानिएको छ ।