प्रचण्डले भने: राजतन्त्रको नारा लगाउनेबाट देशलाई खतरा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रचण्डले भने: राजतन्त्रको नारा लगाउनेबाट देशलाई खतरा



इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताएका छन् ।

शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले नेपालले पञ्चशीलमा आधारित विदेश नीति अबलम्बन गरेको भन्दै कुनै पनि सैन्य गठबन्धनमा समावेश नहुने स्पष्ट पारे ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले इण्डो प्यासेफिकबारे आफ्नो अभिव्यक्तिको सन्र्दभमा चीन र अमेरिकाबाट आधिकारिक भनाई सार्वजनिक नभएको दाबी गरे । ‘ इण्डो प्यासेफिकबारे मसंग भएको कुरा चीनको परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो । यसवारेमा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिक रुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो ।’ प्रचण्डले पत्रकार सम्मेलनमा भने ।

प्रचण्डको सम्बोधनको पूर्ण अंश यस्तो छ

विदेश नीति बारे

हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन । हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं ।

पहिलो बुझ्नु जरुरी छ । यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रपतिलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं । मैले प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो ।

हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो ।

इण्डो प्यासिफिकका सन्दर्भमा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो ।प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो ।त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन ।

अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिक रुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो ।

मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो । कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो । क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन ।

भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो ।

जहाँसम्म क्यूबाको कुरा हो, क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ । नाकाबन्दीविरुद्ध छ । क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो ।

तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै योजना छैन । अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ । कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ । म अमेरिका भ्रमणका बेला समेत यस विषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छु । विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु । यसमा स्प्ष्ट हुनुपर्छ ।

पार्टी एकता बारे

पार्टी एकताको विषय धेरै टुंगिएको छ । केही पक्ष बाँकी छ । यो पनि सजिलै टुंगिन्छ । माधवजीसँग प्रधानमन्त्रीजीसँगको सम्बन्ध अलि बिग्रियो कि भन्ने छ, अहिले त्यस्तो छैन । सचिवालयको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने विषयमा सर्वसम्मतले निर्णय भयो ।

अब फेरी माधवजीले भनेजस्तो केपीजी र मेरोबीच ठूलो कुरा होइन भनेजस्तो अहिले बैठकपछि सम्बन्ध सहज छ ।यतिबेला पार्टीको जोड गुटहरु भत्काउनेमा छ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा हामी केन्द्रीत छौ । अब हाम्रा छलफल त्यसरी नै जान्छन् ।

सरकारको बारे

छिमेकीसँग जे जस्ता सम्झौता भएका छन् त्यसले नेपालको हैसियत माथि उठाएको छ । ल्याण्ड लक्डबाट ल्याण्ड लिंकमा पुगेको छ । यो दूरगामी महत्वको छ ।

आर्थिक विकासको हेर्दा हामी ७ प्रतिशतभन्दा माथिको बृद्धिदरमा गएका छौं । हामी सारै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु जायज छैन । पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको करिव दुई वर्षको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ ।

जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो । पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं ।अब यो सरकारले नयाँ गति लिएर जान्छ ।

गणतन्त्र खतरामा

संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा अलि बढी नै भयो भन्ने चाहिँ होइन । प्रतिगामीहरुले होहल्ला गर्दैमा सार्वभौम जनताले बनाएको सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर गरेर कमजोर हुने स्थिति छैन । यो सिष्टम नै उल्टिने खतरा आयो भन्ने पनि होइन ।

तर हिजोका निरंकुशतावादी, अलि होहल्ला गर्न खोज्ने, एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने, गणतन्त्रको विरुद्ध नारा लगाउने मान्छेहरु निक्लेर नेताहरुलाई सत्तोसराप गरेर गाली गर्ने प्रवृत्तिलाई गम्भीररुपमा लिनुपर्छ ।

यस्ता गतिविधि अहिलेको समृद्धिको यात्राका बाधक तत्वलाई जनतालाई सचेत पार्नुपर्छ । तर यसबाट अहिले नै संवैधानिक समस्या पर्यो भन्ने सत्य होइन ।प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भयो, सबैले यो संविधान र गणतन्त्रप्रति संकल्प र प्रतिबद्धता व्यक्त गरे ।

कार्यदिशा र जिम्मेवारी बाँडफाँड

पार्टीमा कोही पनि जबज र एक्काइसौं शताब्दीको बिरोधी छैनौं । आउँदो महाधिवेशनका यसलाई परिमार्जन गर्ने भनेका छौं । त्यो नहुँदा सम्म समाजावादोन्मुख जनताको जनवाद भनेका छौं । बीचमा त्यस्तो देखिन खोजे जस्तो देखिएपनि अहिले हामी एउटै भाषा र प्रतिबद्धतामा छौं ।

सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमाम केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं । पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु ।

जनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने छ । पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन् । हाम्रा लागि यो पदको कुरा ठूलो होइन ।

चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हो । चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु सारै गलत हुन्छ ।

मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गारो हुन्छ । पाँच वर्ष सरकार चल्छ । राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ । सहमति र सहकार्य जरुरी छ ।

संविधान संशोधन

संघीय समाजवादी पार्टीसँग तीन बुँदे सहमति भएको हो । त्यहाँ आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने कुरा छ । अहिले पनि संविधान भनेको संशोधनीय दस्तावेज हो भन्ने पार्टीको नीति हो । त्यतिबेला समाजवादी अहिले नै गर्नुपर्यो भनेको पनि हो । समयावधि तोकिएको होइन । आवश्यकता अनुसार गर्न सकिन्छ ।