प्रचण्डका घरबेटीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रचण्डका घरबेटीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ।

ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी कालोसूचीमा पर्ने भएको हो। जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै सडक विभागको निर्णय कार्यान्वयन फुकुवा भएको हो।

यसअघि ललितपुर अदालतले कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा नराख्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

ठेकेदार अधिकारीले सम्झौताअनुसार समयमा सडकको काम नगरेपछि सडक विभागले उनको कम्पनी शैलुङलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। विभागको निर्णयविरुद्ध ठेकेदार अधिकारीले ललितपुर जिल्ला अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

प्रारम्भिक सुनुवाइमा अदालतले ठेकेदार अधिकारीको मागअनुसार नै कालोसूचीमा राख्ने सिफारिसको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यो आदेश मंगलबार अदालतले खारेज गरेको हो। ‘यसअघि २०७९ असार ८ मा भएको अन्तरिम आदेशलाई निरन्तरता दिलाइपाऊँ भन्ने माग गरेको देखियो। अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपर्ने देखिएन,’ जिल्ला अदालतले मंगलबार जारी गरेको आदेशमा भनेको छ। सडक विभाग र शैलुङ कन्स्ट्रक्सन कम्पनीबीच २०७१ जेठ २२ गते बालाजु–रानीपौवाको सडक निर्माणसम्बन्धी सम्झौता गरिएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए।

सम्झौताअनुसार २०७३ असार ३ मा काम सक्नुपर्ने प्रावधान थियो। सो म्याद गुज्रिँदा जम्मा ३९ प्रतिशत काम सकिएको भन्ने ठेकेदार अधिकारीको दाबी थियो। त्यसपछि पटकपटक गरी सडक विभागसँग सातौं पटकसम्म म्याद थप्दा पनि अहिलेसम्म बल्ल ५८ प्रतिशत काम गरेको ठेकेदारको दाबी छ।

पटकपटक सम्झौता हुँदा दुवै पक्षबीच २०७८ चैत ३ मा ठेक्का अवधि सकिएको थियो। त्यसपछि ठेकेदार अधिकारीले सडक विभागसँग ठेक्का निरन्तरताका लागि कुनै पहल नगरी बेवास्ता गरेका थिए। विभागले सार्वजनिक खरिद नियमावली, २०६४ को १२औं संशोधनअनुसार पटकपटक सार्वजनिक सूचनाद्वारा जानकारी गराएको थियो।

सूचनालाई पनि अन्देखा गरी सम्झौताअनुसार काम नगरी ठेकेदार अधिकारी बसेका थिए। त्यसपछि सडक विभागले २०७९ असार ५ मा ठेक्का रद्द गरेको गरेको थियो। त्यसपछि ठेकेदार अधिकारीले ललितपुर जिल्ला अदालतमा आफूलाई मर्का परेको भन्दै रिट निवेदन दर्ता गरेका थिए।

अघिल्लो आदेश खारेजसँगै सडक विभागको निर्णय कार्यान्वयन हुने भएको छ। विभागले ठेक्का लिएर सम्झौताअनुसार काम नसकेको भन्दै कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयनमा फुकुवा भएको हो। अदालतको आदेशसँगै शैलुङसँगको ठेक्का रद्द भएको छ। ‘सम्झौताअनुसार काम नसकेपछि तीन वर्ष कालोसूचीमा राख्ने निर्णय सडक विभागले गरेको थियो।

विभागले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो। त्यसविरुद्ध मुद्दा परेको थियो,’ विभागका उपमहानिर्देशक समेत रहेका भीमार्जुन अधिकारीले भने। बालाजु–रानीपौवाको बाटो सडक सुधार विकास आयोजना भारतको एक्जिम बैंकको सहयोगमा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। विभागले ठेक्का तोड्नु भनेको ठेकेदार कम्पनी स्वतः कालोसूचीमा पर्नु हो।

माओवादी अध्यक्ष दाहालका घरबेटी भएकै कारण विभिन्न ठाउँमा सडक बनाउने ठेक्का लिएर पनि समयमा काम नसकेको भन्दै सार्वजनिक रूपमा ठेकेदार अधिकारीको आलोचना हुँदै आएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फोहोर विर्सजनका लागि बन्चरेडाँडा जाने बाटोको ठेक्का लिएका ठेकेदार अधिकारीले समयमा बाटो नबनाएका कारण कठिनाइ भएको भन्दै माओवादी अध्यक्ष दाहाललाई सामाजिक सञ्जालमार्फत भिडियोसहित कटाक्ष गरेका थिए।

२५ किलोमिटरको बालाजु–रानीपौवा खण्डमा आठ किलोमिटर फोहोर विसर्जनका लागि गाडी कुद्ने बाटो पर्छ। ३१ करोड लागतमा डिपिआर भएको थियो। तोकिएको समयमा काम नहुँदा लागत बढेपछि ठेक्का तोडिएको हो।नागरिकमा समाचार छ ।