सीमा विवादबारे छलफल गर्न प्रचण्ड भारत जाने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सीमा विवादबारे छलफल गर्न प्रचण्ड भारत जाने



काठमाडौं- पछिल्लो समय चर्किएको सीमा विवादबारे भारतसँग औपचारिक कुरा गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको बुझिएको छ । सरकारले उच्चस्तर बाट समस्या सुल्झाउने भनेपनि भारतले यस बिषयमा चाँसो दिएको छैन ।

केहि समययता सरकारले माधव नेपाल र नारायणकाजीलाई भारत पठाउने तयारी गरेको थियो । माधव नेपाल विदेश विभाग प्रमुख भएकैले पनि उनकै संयोजकत्वमा एउटा टोली पठाउनेबारे प्रधानमन्त्री ओली स्वयंले निर्णय गरेका थिए । टोलीमा डा राजन भट्टराई पनि जाने तयारी भएको थियो ।

तर, यस विषयमा भारतलाई आधिकारिक जानकारी गराउँदा भारतीय पक्षले वास्ता नै नगरेको र माधव नेपालको कुरालाई प्रार्थमिकता नदिएको कारण नेता नेपाल नजाने करिव करिव तय भएको छ । स्रोतका अनुसार माधव नेपाललाई भारतले नापत्याएकोले अहिले उनले मेसेडोनिया जाने तयारी गरेका छन् ।

कालापानीको विषयमा भारतले चासो नदिएको कारण प्रभावकारी व्यक्तिको खोजीमा सरकार थियो । एकातिर सरकारले सिमा विवादमा चुप बसेको भन्दै जनआक्रोश बढेको छ भने अर्कातिर सरकारकै लागि यो विषय चुनौती बनेको छ ।

भारतले उच्च राजनीतिक तहमै छलफल गर्ने बताएपनि सरकारका कुरामा आलटाल गर्दै आइरहेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डको भेटपछि प्रचण्ड भारत जाने विषयमा छलफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार सीमा विवादकै विषयमा भारत जानुपर्ने भएकाले उनले तत्कालकालागि चीन भ्रमण समेत रोकेका छन् ।

प्रधानमन्त्री अस्वस्थ भएको कारण प्रचण्ड नै जानेगरी तयारी भएको स्रोत बताउँछ ।

भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेर जारी गरेपछी केहि सातादेखि विवाद उत्पन्न भएको छ ।