प्रचण्डको अन्तर्वार्ता : त्यसो भएन भने दुर्घटना हुन्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डको अन्तर्वार्ता : त्यसो भएन भने दुर्घटना हुन्छ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ ।

अध्यक्ष मध्येका प्रचण्डले ऋषि धमलाको टेलिभिजन अन्तरवार्तामा भनेका छन्,‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमति लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’

उनले पार्टीभित्र सहमति भएको खण्डमा ओलीलाई ५ बर्षसम्म नै प्रधानमन्त्री चलाउन दिन पनि सकिने बताए । विकासको गति राम्रोसँग चल्यो भने, आफूले पार्टीको नेतृत्व गरेर अघि बढ्ने र ओलीले सरकार चलाउने ‘कन्डिसन’मा आफूलाई सहज हुने पनि प्रचण्डले बताएका छन् ।

एकता गर्दा भएको सहमतिमा आफूले कुनै आशंका नगरेको बताउँदै उनले भने,‘समय आएपछि अध्यक्ष केपी शर्मा ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न, मैले लिन पनि अप्ठ्यारो मान्दिन । राम्रो काम भयो र पार्टीभित्र सहमति भयो भने उहाँलाई नै ५ बर्ष चलाउन दिन पनि अप्ठ्यारो मान्दिन । उहाँले पार्टीको जिम्मा दिन पनि अप्ठ्यारो मान्न हुँदैन ।’

यस्तो छ अन्तर्वार्ताको सार संक्षेप

ऋषि धमला – कुरो चुरोमा आइपुग्यो। तपाईं र ओलीको बीचमा साढे दुई वर्ष ओलीले नेतृत्व गर्ने। उहाँ प्रधानमन्त्री भैसक्नुभएको छ।

साढे दुई वर्ष । त्यसपछि साढे दुई वर्ष तपाईं प्रधानमन्त्री। १५ महिना भैसक्यो। त्यसपछिको साढे दुई वर्ष तपाईं प्रधानमन्त्री बन्ने सहमति भएर पार्टी एकता भयो। यदि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेर प्रधानमन्त्री पद छाड्नु भएन भने तपाईंले के गर्नुहुन्छ?

प्रचण्ड – जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दु:ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के-के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।

दोश्रो सवाल जनताको सुशासन र विकास तथा समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो। जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएको बेला सुशासनको अनुभूति गर्‍यो कि गरेन?  यो एउटा सवाल हो भने अब जनताले देशमा विकास हुने भयो। भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो। विकास र समृद्धितिर पनि गयो। सरकार र पार्टी नेताको अर्को कुनै स्वार्थ्य छैन भन्ने जनताले बुझ्यो भने चिज एक ढंगले जान्छ।

जनताले होइन भ्रष्टाचार त बढेको छ। चिज झन् उस्तै छ। विकास पनि भनेको जस्तो अगाडि आइराखेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ। कुरा बुझ्नुभयो त। पार्टीभित्र छलफलले गर्दा हिजो जे सहमति भएको छ त्यो स्पिरिटमा अगाडि बढ्यौं भने चिज एक ढंगले जान्छ। त्यो सहमतिभन्दा विपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ।

म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने। के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आंकाक्षाका लागि। तर त्योबाट दायाँबायाँ गर्‍यो भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो। मैले गर्न खोजें भने म पनि टिक्दिनँ। अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन।

हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन। यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं।

ऋषि धमला – ओली र तपाईंबीचमा असझदारी बढ्यो। दूरी बढ्यो भन्नेहरू पनि छन् नि बाहिर।

प्रचण्ड – त्यस्तो होइन। हामीले सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता र निर्णय लिँदा सम्पूर्ण रूपमा इमान्दार र पारदर्शी रूपमा छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ। त्यहाँ गम्भीर भएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ। तर हामी अहिले जसरी छलफल गरिराखेका छौं। त्यहाँ केपीजीसँग मेरो खुलेर छलफल हुन्छ।

तीन चार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ।

ऋषि धमला – एकता महाधिवेशनपछि तपाईंलाई अध्यक्ष बनाउनुभयो भने उहाँ पाँच वर्षको प्रधानमन्त्री हो?

प्रचण्ड – अब त्यो सही होइन। त्यो पूरा होइन। सही त हो, सत्यको अंश हो, पूरै होइन। केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन। मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ। त्यही हो।

ऋषि धमला – जनताको चाहनाअनुसार काम भएन भने नेतृत्व परिवर्तन हुन सक्छ?

प्रचण्ड – भएन भने त त्यो हुनसक्छ। त्यो त सहमतिअनुसार परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्छ।

ऋषि धमला – माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे। संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने? त्यो निर्णय भएको हो?

प्रचण्ड – त्यो बिल्कुल गलत कुरा हो। सरकारलाई कसरी सफल पार्ने। पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ। यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन। मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ। अहिले पनि उत्तिकै छलफल भैराखेको छ। मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ। मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ। भैराखेको छ। अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन। सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने। आजसम्म भएको छलफल यहाँसम्म सीमित छ। बाँकी सबै हल्ला हुन्।