प्रचण्डको न्यायपूर्ण कदम- प्रहरीमा नयाँ सिस्टमको सुरुवात - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको न्यायपूर्ण कदम- प्रहरीमा नयाँ सिस्टमको सुरुवात



काठमाडौं- सरकारले आज (शुक्रबार) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सरकारको यो कदमलाई न्यायपूर्ण निर्णय मानिएको छ ।

विगतमा पहिलो वरीयतामा रहेकाहरुलाई छाडेर आईजीपी नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो । तर यसपटक भने पहिलो नम्बरमै रहेका कुँवरलाई सरकारले आईजीपी नियुक्त गरेको हो ।

डीआईजी हुँदा समेत एक नम्बरमा रहेका कुँवर केही दिन अगाडिको एआईजी बढुवामा पनि पहिलो नम्बरमै रहेका थिए । कुँवरसँगै एआईजीमा बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्य आईजीपीको दौडमा थिए ।

धिरजप्रताप सिंह आईजीपी नियुक्त हुँदा विश्वराज पोखरेल वरीयता मिचेर सरकारले निर्णय गरेको भन्दै न्यायलयसम्म पुगेका थिए । त्यसैगरी अघिल्ला आईजीपी नियुक्तिहरूमा पनि यस्तै विवाद हुँदै आएको थियो ।

यसपटक पनि तेस्रो र चौथो वरीयतामा रहेकाहरुलाई आईजीपी बनाउने प्रयास भएको थियो । तर, सत्ता समीकरणमै समस्या उत्पन्न हुने भएपछि सरकारले पहिलो वरीयताकै कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले कुँवरलाई आईपीजी नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।