सर्वाेच्चले खोज्यो प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता नगर्नुको कारण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सर्वाेच्चले खोज्यो प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता नगर्नुको कारण



काठमाडौँ- सर्वाेच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वाेच्च अदालत प्रशासनसँग मागेको हो ।

कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाइ गर्दै सर्वाेच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।

१ माघ २०७६ मा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर, २४ कात्तिकमा सर्वाेच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरूले पुनः दरपीठको कारण माग गर्दै अर्काे निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वाेच्चले कारण मागेको हो ।