प्रचण्डको नँया खुलासा : 'पूर्वराजा ज्ञानेन्द्रले मौका चुकाउदा १२ बुँदे' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डको नँया खुलासा : ‘पूर्वराजा ज्ञानेन्द्रले मौका चुकाउदा १२ बुँदे’



काठमाडौँ ,७ असार ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले मौका चुकाउदा १२ बुँदे समझादारी भएको खुलासा गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने,‘१२ बुँदे समझदारी यताबाट भएपनि उताबाट भएपनि बन्नै पर्ने थियो, बन्यो ।’

१२ बुँदे समझदारीमा हस्ताक्षरकर्ता प्रचण्डले भने,‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौका उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’ राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउदै प्रचण्डले भने,‘सक्कली राजा र नक्कली राजामा सोच्ने तरिकामा फरक हुने रहेछ । नक्कली राजाले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था भएको हो ।’

‘भरियासँग होइन सिधै मालिक सँग वार्ता गर्ने’ प्रस्ताव चर्चामा रह्यो

शान्तिप्रक्रियाको शुरुआत गर्ने, संविधानसभाको निर्वाचन गर्ने विषयमा पार्टीकै तर्फबाट सिलगुढी बैठकमा तात्कालिन राजनीतिक दलका नेताहरुलाई प्रस्ताव गरेपनि दलहरुले आँट नगरपछि राजासँगै सम्वादको प्रक्रिया शुरु गरेको प्रचण्डले खुलासा गरे । उनले भने,‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन सकिएन । संसदवादी दलहरु पनि सक्षम नदेखिएपछि आफूहरुले भरियासँग वार्ता नगर्ने सिधै मालिक सँग वार्ता गर्ने प्रस्ताव राखेका थियौं, त्यो निकै चर्चामा रह्यो ।’

नाटकिय रुपमा आएका राजामा सोच्ने तरिका फरक हुदो रहेछ

प्रचण्डले त्यसपछि धिरेन्द्रसँग सिधै वार्ता भएको र वीरेन्द्रसँग वार्ता हुने प्रयास भइरहेका वेला दरवार हत्याकाण्ड भएको खुलाए । उनले १२ वुँदे समझदारीको तथ्य खोल्दै भने,‘धिरेन्द्रसँग पार्टीका तर्फबाट वार्ता भएकै थियो ।

वीरेन्द्रसँग पनि कसरी गर्ने भन्ने छलफल भइरहेको सन्र्दभमा १९ जेठमा वीरेन्द्र परिवारको हत्या हुन पुग्यो । एउटा असली राजा भन्दा नाटकिय रुपमा आएका राजाको बीचमा सोच्ने तरिका फरक हुदो रहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरे ।’

२०६२ मंसिर ७ गते दिल्लीमा तात्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीका बीचमा १२ बुँदे समझदारी भएको थियो । दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरि वाह्य मुलुकमा गरेको भन्दै वेलावखत आलोचना हुँदै आएको छ । तर, प्रचण्डले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरे ।

शान्ति प्रक्रिायमा आउने वातावरण मनोगत रोमान्सका आधार भएको होइन

जनयुद्ध शुरुआत गर्दा र शान्ति प्रक्रियामा आउने वातावरण ‘राष्ट्रिय वातावरणले मात्र नभई अन्तराष्ट्रिय परिस्थिति’ले पनि निर्माण गरेको प्रचण्डले बताए । ‘युद्ध गर्ने र शान्ति प्रक्रिायमा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन ।’ प्रचण्डले भने,‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्तराष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए ।’नँया पत्रिकाबाट