अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति परिवर्तन गर्ने प्रचण्डको 'मास्टरप्लान' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति परिवर्तन गर्ने प्रचण्डको ‘मास्टरप्लान’



काठमाडौं- पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा देखिएको शक्तिसंघर्षले राजनीतिकर्मीलाई नै झल्यास्स ब्युँझाएको छ । लामो समय पार्टीमा अल्पमतमा रहेको जस्तै देखिएका अध्यक्ष पुष्पकमल दाहालले दिएको एउटा सानो झट्काले नेकपाभित्र पराकम्प उत्पन्न भएको छ ।

चार महिना लामो प्रधानमन्त्री ओलीको अडानमा एकाएक बहुमत प्रदर्शन गरी प्रचण्डले सभामुख चयनमा ट्रेलर देखाएको नेकपाभित्र चर्चा बढेको छ ।

तत्कालका लागि नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न तनाव अन्त्य भए पनि यो ट्रेलरले केपी ओली नेतृत्वको सरकारलाई निर्वाध रूपले काम गर्न दिइने सम्भावना भने न्यून बनेको छ।

प्रचण्डले चाहेका व्यक्तिलाई सभामुख बनाउने निर्णयपछि केपीविरोधीहरूको मनोबल निकै बढेको छ भने ओली निकटका नेताहरू पनि सोंचेजस्तो नभए अब प्रधानमन्त्री परिवर्तन गर्न समय नलाग्ने निचोडमा पुगेका छन् ।

हाल सभामुख र राष्ट्रिय सभा सदस्यको निर्वाचन भएकोले तत्काल केपी सशङ्कित हुने कुनै ‘काम कुरा’ नगर्ने ‘रणनीतिक मौनता’ प्रचण्डले लिएको निकटस्थहरूको बुझाई छ ।

यी निर्वाचनपछि एउटा विषयलाई मुद्दा बनाएर ओलीलाई रक्षात्मक तुल्याउँदै सरकार बदल्ने योजनामा प्रचण्डले गोटी चाल्न सक्ने स्रोतले दाबी गर्छ।

पार्टी एकता, द्वन्द्वकालिन मुद्दा लगायतका बिषयले प्रचण्ड अल्पमत जस्तै देखिएको तर उनले सुरुआतदेखि नै आफ्नो माहोल बनाइरहेको पनि उनि निकट नेताहरूको दाबी छ ।

केहि दिनमै प्रचण्डले अब नयाँ तरिकाले सरकार र पार्टी लैजाने अभियान चलाउने र यो अभियानले केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि सक्ने केहीको आंकलन छ ।

यस्तो छ अभियान

प्रचण्ड निकट नेताका अनुसार अबको एकल अध्यक्ष प्रचण्ड बन्ने योजनाका साथै प्रधानमन्त्रीमा माधव नेपाल वा वामदेव मध्ये एकलाई प्रस्ताव गरेर झलनाथ खनाललाई राष्ट्रपतिमा ल्याउने योजना प्रचण्डको छ ।

प्रतिनिधिसभामा अहिले पनि केपी समर्थक सांसदहरूको सङ्ख्या पचासीभन्दा बढी रहेकोे अवस्था छ त्यसैले प्रचण्डको यस्तो प्रयासमा माधव, झलनाथ, वामदेव र केही शक्तिकेन्द्रको समेत साथ रहेको देखिए पनि उनको यो योजना सहजै कार्यान्वयन हुने स्थिति देखिंदैन ।

माधव नेपाल समर्थक करिब एकचालीस सांसदमध्ये प्रचण्डलाई कतिले साथ् देलान भन्ने मुख्य कुरा हुन्छ ।

पार्टी विभाजनको खतरा

प्रचण्डको योजना अनुसार जबर्जस्ती सरकार बदल्ने अभियान चल्दा त्यसले नेकपाभित्र सभामुख चयनमा देखिएको दृश्य नदेखिएला भन्न सकिन्न । सभामुख चयनकै बिषयले नेकपाभित्र पार्टी फुट्ने सम्मको हल्ला चल्यो । नेता र कार्यकर्ता आफ्ना गुटकालागि निकै मरिमेटेर लागे ।

प्रचण्ड आफैँचाहिँ पार्टी विभाजन हुन्छ कि भन्ने कुराले पछाडी फर्कने व्यक्ति होइनन भन्ने बिभिन्न उदाहरण छन् । उनको विगत पनि विभाजनसँग डराउने खालको भने होइन । तर, माधव नेपालचाहिँ पार्टी विभाजनबाट डराउने भएकोले प्रचण्ड जतिसुकै आक्रामक ढङ्गले केपीविरुद्ध सक्रिय रहेको भए पनि पार्टी विभाजन हुने हदसम्म माधवको साथ रहने विश्वास गरिँदैन ।

नेकपा भित्र एक तहका केन्द्रीय नेताहरूमा विभाजित भएर अगाडी बढ्न सकिन्न भन्ने ठुलो अनुभव छ । वामदेव गौतम पनि यसबाट निकै डराउँछन् । त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी विभाजन हुनेसम्म अगाडी जालान भन्न सकिन्न ।

नेकपाभित्र अब चालिने चाल र केहि मन्त्रीहरूको फेरबदलले यसलाई कुन दिशामा लैजान्छ भन्ने आंकलन अहिले नै गर्न गाह्रो छ । तर, प्रचण्ड निकट नेताहरू प्रचण्डको यो मास्टरप्लान भएको र यसमा जसरी पनि उनले सफलता हासिल गर्ने बताउने गरेका छन् ।