नयाँ सहमतिको प्रयास: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नयाँ सहमतिको प्रयास: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री



संसदीय निर्वाचनको लागि दलहरूले तयारी थाल्दैगर्दा राजनीतिको बजारमा नयाँ-नयाँ खिचडी पाक्न थालेका छन् । संसदीय निर्वाचनसम्म यही गठबन्धन कायम रहन्छ वा अर्कै गठबन्धन बन्छ भन्ने एकिन नभए पनि कांग्रेस र माओवादी केन्द्र हालको गठबन्धन नतोड्ने पक्षमा छन् भने कुनैपनि हालतमा गठबन्धन टुटाएर आफू अनुकुल चुनावी परिणाम ल्याउने पक्षमा एमाले छ ।

बाहिर-बाहिर बाम गठबन्धन बन्ने सम्भावना छैन भन्दै गोप्य छलफल र वार्ता गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरू योजनाबद्ध तरिकाले लागेका छन् । सबै बाम शक्तिहरूलाई समेट्न नसकिएपनि सजिलै फकिने माओवादीलाई लिएर भएपनि एलाएन्स गर्ने पक्षमा एमाले छ । स्थानीय निर्वाचनको परिणामले झस्किएको एमालेसँग भएको विकल्प पनि यहि मात्रै हो ।

बाहिर चुईक्क आवाज नजानेगरी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेका विष्णु पौडेल लगायतका नेताहरू दिनरात खटिएको स्रोतले बताउने गरेका छन् । यी छलफल र वार्ताको सुपरभिजन भने एमाले अध्यक्ष ओलीले गरेको बताइन्छ । एमालेमै पनि सहमति भड्काउन उद्धत समूह रहेको भन्दै अति गोप्य तवरले भैरहेका पहल कति सफल होलान त्यो हेर्न बाँकी छ । यदि माओवादी एमालेतर्फ ढल्किएको खण्डमा राष्ट्रिय राजनीतिमा फेरि अर्को उथलपुथल हुने सम्भावना छ ।

यिनै योजनावद्ध छलफल र वार्ताको संकेत थियो स्थानीय निर्वाचन अगाडी एमाले अध्यक्ष ओलीले एक टेलिभिजनमा दिएको अन्तर्वार्ता । उक्त अन्तर्वार्तामा ओलीले भनेका थिए ‘लेखेर राख्नुहोस् असारको महिनामा नेपालको राजनीतिमा अर्को उथलपुथल हुनेवाला छ । शेरबहादुर जी ज्योतिषिमा निकै विश्वास गर्नुहुन्छ, उहाँलाई पनि मैले भन्न चाहन्छु असारभित्र नेपालको राजनीतिमा ठूलो उलटफेर हुनेवाला छ ।’ उनको त्यो संकेत यही छलफल र वार्ताको करण थियो ।

जानकार स्रोतका अनुसार अहिले पनि एमाले र माओवादीका नेताहरू निरन्तर छलफलमा छन् । हिँजो एमाले माओवादीको एकता मन नपराउने एमाले र माओवादी भित्रकै केही नेताहरूको भने अहिले पनि यसमा चित्त दुखाई छ । यदि यो वार्ता र छलफलले सफलता पाएको खण्डमा नेपाली राजनीतिमा फेरि उलटफेर हुने पक्कापक्की जस्तै छ । पछिल्लो समय एकीकृत समाजवादीभित्र पनि बाम गठबन्धन आवस्यक रहेको आवाज बलियो बन्न थालेको छ ।

एमाले र माओवादीका नेताबीचको वार्ताको सुइँको पाएका प्रधानमन्त्री शेरबहादुर देउवा भने अहिलेको गठबन्धन कायम राख्ने पक्षमा छन् । स्थानीय निर्वाचन अगाडी गठबन्धन गर्न नहुने अडानमा रहेका कांग्रेसका नेताहरू पनि अहिले तै चुप मै चुप छन् । माओवादी केन्द्र जता ढल्कियो उसैको पल्ला भारी हुने अवस्था भएपछि प्रचण्डको बार्गेनिङ पावर पनि बढेको छ । यही पावरका कारण प्रचण्डले कांग्रेसलाई धम्क्याईसकेका छन् । घुर्कीपूर्ण चेतावनी दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार बढ्यो भने उसको हालत एमालेको जस्तै बनाइदिने भनेर दिएको अभिव्यक्तिले कांग्रेसमा समेत हलचल मच्चाइदिएको थियो । यही अभिव्यक्तिका कारण एमालेका नेताहरूमा पनि प्रचण्डलाई फकाउन सकिने आधा पलाएको छ ।

स्थानीय निर्वाचनकै दौरान एमाले अध्यक्ष ओलीले मओवादीलाई कांग्रेसले भन्दा एमालेले ठूलो भाग दिन सक्ने भन्दै लोभ देखाइसकेका छन् । यसअघिको संसदीय निर्वाचनमा पनि कांग्रेसले माओवादीको अफर नमानेकै कारण एमालेसँग मिल्न बाध्य भएको थियो । त्यहि घटनाले एमाले र माओवादीबीच पार्टी एकता बन्नेसम्मको वातावरण बनाएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रै दवावमा रहेकाले सकेसम्म बार्गेनिङ गर्नेनै छन् । कांग्रेसले भनेजति सिट नदिएको खण्डमा उनको लागि अर्को विकल्प पनि छ । यिनै घटनाक्रमले कार्तिक वा मङ्सिरमा हुने संसदको निर्वाचनमा यसै हुन्छा भनेर अनुमान गर्न सकिने अवस्था बनिसकेको छैन ।

नयाँ मोडलमा छलफल: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री

संसदीय निर्वाचनमा माओवादीसंगको गठबन्धन कायम राख्न दबाबमा रहेका कांग्रेस सभापति देउवा पनि राजनीतिका राम्रै खेलाडी हुन् । त्यसमाथि अघिल्लो संसदीय निर्वाचनमा माओवादीसँग तालमेल नगरेकै कारण भोगेको कष्ट, आफ्नै नेतृत्वमा ठूलो पार्टी बनाउने चुनौती लगायतका कारण सबै विकल्पमा जान देउवा तयार छन् । यसपछि राजनीतिबाट ‘सेफल्याण्डीङ’ हुने उनको चाहना भएकैले पनि यो अवसर उनले गुमना नदिने कांग्रेसकै नेताहरूले दाबी गर्ने गरेका छन् ।

स्थानीय निर्वाचनपश्चात देउवा र प्रचण्डबीचमा भएका छलफलमा पनि यस मोडालिटीबारे छलफल भएको उनीहरूको दाबी छ । उनीहरूका अनुसार देउवामाथि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दवाव पनि छ । एकातिर प्रचण्डले प्रधानमन्त्रीको कार्ड फ्याँकीसकेका छन् भने अर्कातिर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले खेलेको भूमिका र त्यागबारे कांग्रेसकै बैठकमा देउवाले गुणगानगाउने गरेका छन् । देउवाले यो पटक कम्युनिष्टहरू मिलेको खण्डमा माओवादी र एमाले मात्रै नभएर सानातिना सबै पार्टी एक हुनसक्नेबारे पनि पार्टीको बैठकमा भन्ने गरेका छन् ।

प्रचण्ड र देउवासँगै छलफलमा बसेका कांग्रेसका एक नेताका अनुसार संसदीय निर्वाचनका लागि केही विकल्पमा छलफल भैसकेको छ भने केही विकल्पबारे पार्टीमा छलफल हुने गरेको छ । जुन विकल्पमा भएपनि ओलीलाई थप साइजमा ल्याउन यो गठबन्धन टुट्न नहुने ति नेताले बताएका छन् ।

पछिल्लोपटक भएको छलफलमा प्रचण्डले देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरिसकेको र यो प्रस्तावमा देउवाले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । उक्त भेटमा प्रचण्डले आफूले गिरिजा प्रसाद कोइरालालाई आफूले राष्ट्रपति बनाउन नपाएकोले अहिलेसम्म पछुतो लागेको बताउँदै देउवालाई यस्तो प्रस्ताव गरेका थिए । ‘त्यो बेला मैले गिरिजाबाबुलाई राष्ट्रपति बनाउन नपाएकाले अहिलेसम्म पछुतो छ, तपाईं संसदको चुनावपछि राष्ट्रपति बन्नुहोस्, त्यो वातावारम नेले बनाउँछु ।’ प्रचण्डको भनाई उद्घृत गर्दै कांग्रेसका एक नेताले बताए । उनका अनुसार प्रचण्डले देउवालाई राष्ट्रपति प्रस्ताव गर्नुको सोझो अर्थ भनेको आफू प्रधानमन्त्री बन्न चाहनु हो ।

देउवाले यो प्रस्तावमा कुनै प्रतिक्रिया भने नदिएको ति नेताको दाबी छ । उनका अनुसार भोलीका दिनमा हुने छलफल र वार्ताले त्यहाँसम्म पुग्न सक्ने आधार पनि छन् । यदि अन्य विकल्पामा कुरा नमिलेको खण्डमा देउवाले यहि मोडलको सहमति गर्नसक्ने उनी बताउँछन् । यदि यस्तो सहमति भएको खण्डमा कांग्रेस र माओवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्नेछन् । पहिलो साढे दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री बनाउने र त्यसपछि कांग्रेसका कुनै नेताले सरकार चलाउने उनको दाबी छ ।