सरकारको कामप्रति सन्तुष्ट छैन, सरकार आलोपालो हुन्छ : प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकारको कामप्रति सन्तुष्ट छैन, सरकार आलोपालो हुन्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु सरकारको काम कारबाहीबाट सन्तुष्ट नभएको बताएका छन् । पछिल्लो समय विभिन्न विधेयकहरुमा भएको विरोधलाई सङ्केत गर्दै प्रचण्डले पार्टीमा छलफल नगरी ल्याएकोले आफु सन्तुष्ट नभएको बताएका छन् ।

‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो नै हुने पनि बताएका छन् । पार्टी कामका सिलसिलामा बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले भने, “सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ । पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?”

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । “विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,” उनले भने ।

उनले लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताए ।

गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता, छलफल गरी परिमार्जन गरिने उनले स्पष्ट पारे ।

भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।
उनले तीन नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरणका बारेमा पार्टीमा छलफल भइराखेको बताउँदै विभिन्न विकल्प अघि सारिएको बताए ।

“एउटा सोच के छ भने, जे पहिला निधो भयो, कमसेकम पाँच वर्षका लागि त्यहीँ कायम राखौँ कि भन्ने मत पनि छ, यसमा छलफल जारी छ,” उनले भने ।

पार्टीको जिल्ला इन्चार्ज, सहइन्चार्जलगायत कतिपय कार्यविभाजन अब प्याकेजमा टुंगो लगाइने उनले बताए । “विशेष कमिटी, जनसंगठनहरूको इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय निकाय सबै एकैपटक प्याकेज नै सचिवालयमा प्रस्तुत गर्ने तयारी छ, प्रधानमन्त्री फर्किएपछि बैठक बसेर टुंग्याउँछौँ,” उनले भने ।